हामी एकताबद्ध, परिवर्तित र सबल कांग्रेसको पक्षमा छौँ : पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले बाध्यात्मक परिस्थितिका कारण हुन लागेको विशेष महाधिवेशनले पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यो महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्व सुनिश्चित गर्ने दाबी गरेका हुन्। पौडेलका अनुसार विशेष महाधिवेशनले नेपाली कांग्रेसभित्रको आन्तरिक एकतालाई अझ मजबुत बनाउँदै पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउनेछ। नेता पौडेलले लेखेका छन्, ‘बाध्यात्मक परिस्थितिले सृजना गरेको विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्व सहित नेपाली काङ्ग्रेसलाई अझ एकताबद्ध बनाउनेछ । हामी एकताबद्ध, परिवर्तित र सबल नेपाली काङ्ग्रेसको पक्षमा छौँ ।

कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षधरबिच वार्ता भइरहेका बेला पौडेलले यस्तो धारणा राखेका हुन्। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर र संस्थापन समूहबिच वार्ता जारी छ । बालुवाटारमा दुई समूहबिच वार्ता भइरहेको हो । जारी विवाद समाधानको लागि भन्दै विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र संस्थापन पक्षले वार्ता समिति बनाएको थियो ।विशेष महाधिवेशन पक्षधरबाट केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्य, नेता गुरुराज घिमिरे र देवराज चालिसे वार्ता समितिमा छन् । संस्थापन र शेखर कोइरालाका तर्फबाट बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डाक्टर मिनेन्द्र रिजाल वार्ता समितिमा रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *