देउवाको ‘प्राइभेट कम्पनी’ ले गरेको कारबाही मान्दैनौँ : थापा

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले कारबाही गरेको समाचार बाहिरिए लगत्तै महामन्त्री गगन थापाले विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा पुगेर त्यसको कडा प्रतिवाद गरेका छन् । विशेष महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै थापाले सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले गरेको कारबाहीलाई ‘प्राइभेट कम्पनीको निर्णय’ भन्दै सिधै खारेज गरिदिएका हुन्। उनले २४८८ जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षर र उपस्थितिले नै विशेष महाधिवेशनको वैधानिकता पुष्टि गरेको भन्दै अब सानेपामा बसेर देउवा पक्षले गर्ने कुनै पनि निर्णयको अर्थ नरहने जिकिर गरे । सम्बोधनका क्रममा निकै आक्रामक देखिएका थापाले आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माले अन्तिम समयसम्म पनि पार्टी एकताका लागि संवाद गरिरहँदा देउवा पक्षले भने षड्यन्त्रपूर्वक अलमल्याउने रणनीति अपनाएको दाबी गरे। आफूहरूले वार्ता र सहमतिको प्रयास गरिरहँदा उता देउवा पक्षका मानिसहरू निर्वाचन आयोगमा गएर छापामार शैलीमा निर्णय दर्ता गराएको र कारबाहीको नाटक रचेको उनको आरोप थियो। उनले ९ कक्षाको थेसिस लेखे जसरी देउवाले पार्टी चलाउन खोजेको भन्दै प्रश्न गरे, ‘तपाईंको प्राइभेट कम्पनी हो र निकाल्नलाई रु खबरदार, निकाल्नुपर्ने त तपाईंलाई हो ।’ उनले आफूलाई बाटोबाटै महामन्त्री पदबाट हटाउने अधिकार कसैलाई नभएको र स्पष्टीकरण समेत नसोधिएको कारबाहीलाई विधान र कानुनले नचिन्ने बताए। पछिल्लो समय आफूहरूले ४० प्रतिशत भागबन्डा वा प्रधानमन्त्रीको पद मागेको भन्ने संस्थापन पक्षको आरोपलाई उनले वाहियात भन्दै खण्डन गरे । आज बिहान मात्रै सभापति देउवाको निवासमा गएर आफूहरूले ‘तपाईं अभिभावक र संरक्षक बनिदिनुस्, तर कार्यकारी भूमिका छोडिदिनुस्’ भनेर दुई हात जोडेर बिन्ती गरेको तर देउवा पक्षले त्यसलाई कमजोरी ठानेको उनले बताए। भदौ २३ र २४ गते सडकमा ओर्लिएका नौजवानहरूको आक्रोशलाई सम्बोधन गर्न र आगामी निर्वाचनमा कांग्रेसको साख जोगाउन नेतृत्व परिवर्तन अनिवार्य भएको उनको तर्क थियो । उनले कांग्रेसले अबको निर्वाचनमा शेरबहादुर देउवालाई प्रधानमन्त्रीको उम्मेदवार होइन भनेर जानुपर्ने बाध्यता रहेको सुनाए ।

विशेष महाधिवेशनको वैधानिकतामाथि उठेको प्रश्नको जवाफ दिँदै थापाले अब शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भङ्ग भइसकेको घोषणा गरे । विशेष महाधिवेशनको प्रक्रिया सुरु भइसकेकाले अब यही महाधिवेशनले चयन गर्ने नयाँ कार्यसमिति नै आधिकारिक हुने उनको दाबी थियो। उनले निर्वाचन आयोग, देशको संविधान र कानुनप्रति आफूहरूको पूर्ण भरोसा रहेको बताउँदै बहुमत प्रतिनिधिले गरेको निर्णयलाई राज्यका निकायले स्वीकार गर्ने विश्वास व्यक्त गरे । आफूहरूलाई पदको लोभ नभएको भन्दै उनले विशेष महाधिवेशनबाट अन्तरिम नेतृत्व वा सामूहिक नेतृत्व जस्तो विकल्पमा जान पनि आफूहरू तयार रहेको स्पष्ट पारे। कार्यकर्ता र शुभेच्छुकहरूमा पार्टी फुट्ने चिन्ता छाएको सन्दर्भमा बोल्दै उनले कांग्रेस नफुटेको बरु रूपान्तरणको बाटोमा लागेको दाबी गरे। रुख चिह्न र झन्डा कसैको पेवा नभएको भन्दै उनले जहाँ कांग्रेसको आत्मा, विचार र बहुमत प्रतिनिधि छन्, त्यहीँ आधिकारिक कांग्रेस हुने बताए । उनले उपस्थित प्रतिनिधिहरूलाई गाउँ फर्किएर शिर ठाडो पारी ‘म गगन र विश्व सहभागी भएको विशेष महाधिवेशनबाट आएको हुँ’ भन्न सक्ने वातावरण बनाउने बाचा गरे। उनले पञ्चायतकालको मण्डले शैलीमा अहिलेको संस्थापन पक्ष उत्रिएको आरोप समेत लगाए। सम्बोधनको अन्त्यमा उनले निर्वाचन प्रक्रिया सुरु हुन लागेको जानकारी दिँदै सबैलाई धैर्य गर्न आग्रह गरे । आफूहरू जोखिम मोलेर सत्य, न्याय र विवेकको पक्षमा उभिएको भन्दै उनले अब बन्ने नयाँ नेतृत्वले नै आगामी निर्वाचनमा कांग्रेसलाई बलियो बनाउने जिकिर गरे। देउवा पक्षले गरेको कारबाहीलाई कागजको खोस्टो सरह मान्दै उनले अबको कांग्रेस विधि, थिति र पद्धतिमा चल्ने बताउँदै निर्वाचन प्रक्रियामा सामेल हुन सबै प्रतिनिधिलाई आह्वान गरे।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *