सूर्य नेपाल इस्टर्न ओपन प्रो–एमको उपाधि शुक्रको टिमलाई

धरान । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको प्रो–एम उपाधि शुक्रबहादुर राईको टिमले जितेको छ । पार–७० धरान गल्फ क्लबमा शनिबार सम्पन्न प्रतियोगितामा शुक्रसहित एमेच्योर सोम गुरुङ, पूर्ण लिम्बु र आवास भट्टराई सम्मिलित टोलीले कुल १५८ अंक जोड्दै उपाधि हात पारेको हो । पूर्वनेपाल नम्बर एक प्रो शुक्रले ३७ अंक बनाए । उनले काउन्ट ब्याकमा सञ्जयलामालाई पछि पारे । एमेच्योरतर्फ सोमले सर्वाधिक ४२ अंक जोड्दा पूर्णले ४० र आवासले ३९ अंक जोडे । प्रो सञ्जय लामा तथा एमेच्योर लोकेन्द्र राई, दिवस तुलाधर रमानबहादुर लिम्बु सम्मिलित टोली १५० अंकसहित दोस्रो बन्यो । सञ्जय र मनबहादुरले समान ३७ अंक जोडे भने लोकेन्द्र र दिवसले समान ३८ अंक प्राप्त गरे । प्रो बलभद्र राई तथा एमेच्योर मेजर जनरल नकुलबहादुर रायमाझी, सिद्धान्त सापकोटा र वसन्त राईको टोली १४६ अंकसहित तेस्रो स्थानमा रह्यो । स्थानीय अनुभवी प्रो बलभद्र र एमेच्योर बसन्तले समान ३६ अंक जोडे भने नकुल र सिद्धान्तले ३७,३७ अंक बनाए । महिलातर्फ बिना सापकोटाले ३० अंकसहित उत्कृष्ट व्यक्तिगत स्कोरको पुरस्कार जित्न सफल रहिन् ।

यस्तै, मेजर जनरलन कुलबहादुर रायमाझीले लङ्गेस्ट ड्राइभ र उज्ज्वल राईले क्लोजेस्टटु द पिनको उपाधि जिते । स्टेबलफोर्ड फुल ह्यान्डिक्याप फर्म्याटमा खेलाइएको प्रतियोगितामा १५ प्रो र ५५ एमेच्योर गरी कुल ७० गल्फरले सहभागिता जनाएका थिए । नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राई र कोसी प्रदेश गल्फसंघका अध्यक्ष सुयश प्याकुरेलले विजयी खेलाडीहरूलाई पुरस्कार प्रदान गरे । यसअघि शुक्रबार सम्पन्न सूर्य नेपाल इस्टर्न ओपनको प्रतिस्पर्धामा नेपाल नम्बर एक प्रो निरज तामाङले कुल १५–अन्डर १२५ स्कोरसहित उपाधि जितेका थिए । एमेच्योर राहुल विश्वकर्मा ९–अन्डर १३१ स्कोरसहित दोस्रो भए । बलभद्र राई ६–अन्डर २०४ स्कोरसहित तेस्रो स्थानमा रहे । दिनेश प्रजापतिले २०७ स्कोरसहित चौथो स्थान हासिल गर्दा टंकबहादुर कार्की र भुवन नगरकोटीले पाँचौँ स्थान बाँडे । प्रतियोगिताको कुल नगद पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *