किसान सहकारी र निसर्ग हस्पिटलबीच सम्झौता, सदस्य र एकाघर परिवारको उपचारमा विशेष छुट
धनगढी । किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका शेयर सदस्यहरू र एकाघर परिवारका सदस्यहरुले अब धनगढीस्थित निसर्ग हस्पिटलमा उपचार सेवा लिँदा विशेष छुट पाउने भएका छन्। सुदूरपश्चिममै सबैभन्दा धेरै (९३ हजार) शेयर सदस्य रहेको किसान सहकारी र निजी क्षेत्रबाट सञ्चालित निसर्ग हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट प्रदान गर्ने समझदारी भएको हो। सम्झौतामा निसर्ग हस्पिटलका कार्यकारी अध्यक्ष तीर्थराज पन्त र किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका महाप्रबन्धक डम्बरबहादुर शाहले हस्ताक्षर गरेका छन्। यससँगै सहकारीका शेयर सदस्यहरूले आफ्नो परिचयपत्र देखाएर निसर्ग हस्पिटलमा विभिन्न स्वास्थ्य सेवामा छुट पाउने व्यवस्था लागू भएको छ। सुदूरपश्चिम क्षेत्रमा स्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको निसर्ग हस्पिटल र २०५२ सालमा स्थापना भई कैलालीको लम्कीमा केन्द्रीय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारीबीच भएको यो सहकार्यलाई सामाजिक उत्तरदायित्वसँग जोडिएको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। किसान सहकारीका सुदूरपश्चिमका नौ वटै जिल्लामा सेवा केन्द्र रहेका छन् भने सहकारीमा ९३ हजारभन्दा बढी शेयर सदस्य आबद्ध छन्। किसान सहकारीका दीपक ढुङ्गानाका अनुसार सम्झौताअनुसार शेयर सदस्यहरूले जनरल बेडमा भर्ना हुँदा १५ प्रतिशत, क्याबिन भर्नामा १० प्रतिशत, आईसीयू तथा एनआईसीयू बेडमा १२।५ प्रतिशत छुट पाउनेछन्।
त्यसैगरी जनरल सर्जरी, अर्थोपेडिक र गाइनोलोजी उपचारमा १० प्रतिशत, ल्याप्रोस्कोपी अपरेसनमा १० प्रतिशत तथा प्याथोलोजी परीक्षणमा २० प्रतिशत छुट उपलब्ध हुनेछ। यस्तै भिडियो एक्स–रे, एक्स–रे, ईसीजी, ईको, टीएमटी र एन्डोस्कोपी सेवामा १० प्रतिशत तथा मेडिसिन सेवामा ५ प्रतिशत छुट प्रदान गरिने जनाइएको छ। यो छुट सुविधा सदस्यका आमा, बाबु, श्रीमान्, श्रिमती र छोराछोरीमा समेत लागू हुने संस्थाले जनाएको छ। यस सहकार्यले सहकारीका शेयर सदस्यलाई सुलभ र किफायती स्वास्थ्य सेवा उपलब्ध गराउँदै सामाजिक सुरक्षाको अनुभूति दिलाउने विश्वास दुवै संस्थाले व्यक्त गरेका छन्। सो अवसरमा किसान सहकारीका महाप्रबन्धक शाहले सहकारीले शेयर सदस्यहरूलाई जन्मदेखि मृत्युसम्मका सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाजस्ता क्षेत्रमा निरन्तर सहकार्य गर्दै आएको बताए। उनले उपचार खर्चको बोझ कम गरी सदस्यहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले निसर्ग हस्पिटलसँग सम्झौता गरिएको स्पष्ट पारे। निसर्ग हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले भने, “हामी सुदूरपश्चिममा स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने योजनामा सक्रिय छौं। सहकारीसँगको सहकार्यले यो पहललाई थप प्रभावकारी बनाउनेछ।”
















