संसद भवनमा जेनजी सहिदको सालिक राख्ने विषयमा प्रधानमन्त्री कार्कीको छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारस्थित निर्माणाधीन संसद भवन परिसरमा जेनजी आन्दोलनका सहिदहरूको सालिक राख्ने विषयमा भएको प्रगतिबारे जानकारी लिएकी छन् । बिहीबार सिंहदरबारमा सम्बन्धित मन्त्री र निकायका अधिकारीहरूलाई बोलाएर कार्कीले निर्माणाधीन संसद भवन परिसरमा सहिदका सालिक राख्ने विषयमा छलफल गरेकी हुन् । छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, खानेपानीमन्त्री मदन परियार र सहरी विकासमन्त्री कुमार इङ्नामको सहभागिता थियो ।

त्यस्तै प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डे, प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्की, अर्थसचिव घनश्याम उपाध्याय, सहरी विकास सचिव गोपाल सिग्देल, कानुन सचिव पाराश्वर ढुंगाना पनि छलफलमा सहभागी थिए । सहरी विकास सचिव सिग्देलले सालिक राख्न पहिचान गरिएका ठाउँहरू र सम्भावित डिजाइनबारे जानकारी दिँदै सुझाव तथा निर्देशन मागेका थिए । प्रधानमन्त्री कार्कीले यस विषयमा ढिलो नगरी संसद भवन निर्माणसम्बन्धी गुरुयोजना संशोधन गरी निर्माण कार्य अघि बढाउन निर्देशन दिएकी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *