माछापुच्छ्रे बैंक र केएफसीबीच सहकार्य
काठमाण्डौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सहज, सुरक्षित तथा प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यले विश्वप्रसिद्ध फुड चेन कम्पनी केएफसी र प्रविधि कम्पनी सिटीटेकसँग सहकार्य गरेको छ। डिजिटल बैंकिङ कारोबारलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित गरिएको यो सहकार्य नेपालमा पहिलो पटक हस्पिटालिटी उद्योगलाई लक्षित गरी सुरु गरिएको बैंकले जनाएको छ। यस सहकार्य अन्तर्गत केएफसीका विभिन्न आउटलेटहरूमा माछापुच्छ्रे बैंकका अत्याधुनिक पिओएस (Point of Sale) उपकरणहरू जडान गरिएको छ।
ती उपकरणमार्फत ग्राहकहरूले कार्ड तथा क्यूआरको माध्यमबाट छिटो, सुरक्षित र सहज रूपमा भुक्तानी गर्न सक्नेछन्। यसले नगद कारोबारमा निर्भरता घटाउँदै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने विश्वास बैंकले व्यक्त गरेको छ। बैंकका अनुसार नयाँ प्रविधियुक्त पिओएस प्रणालीले ग्राहक र व्यापारी दुवैका लागि कारोबार प्रक्रिया सरल बनाउनेछ। भुक्तानीको समय कम हुनुका साथै लेनदेन अझ पारदर्शी र सुरक्षित हुने अपेक्षा गरिएको छ। साथै, यस प्रविधिले सेवा प्रदान गर्ने समय घटाएर ग्राहक सन्तुष्टि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बैंकको भनाइ छ।
















