युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने

दाभोस । युक्रेनमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका, रुस र युक्रेनबिच संयुक्त अरब इमिरेट्स (यूएई) मा त्रिपक्षीय वार्ता हुने भएको छ। स्विट्जरल्याण्डको दाभोसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसको पुष्टि गरेका हुन्। कूटनीतिक सक्रियता बढेसँगै ट्रम्पले जेलेन्स्कीसँगको भेट सकारात्मक भएको बताएका छन् भने अमेरिकी विशेष दूत स्टिभ विट्कोफ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न मस्को प्रस्थान गरेका छन्। ट्रम्पका ज्वाइँ जारेड कुश्नरसहित मस्को जान लागेका विट्कोफले सम्झौताप्रति आफू आशावादी रहेको बताएका छन्। दाभोस छोड्नुअघि उनले अब एउटा मात्र मुख्य विषय सुल्झाउन बाँकी रहेको र त्यो समाधानयोग्य रहेको दाबी गरे। विट्कोफले बाँकी रहेको विवादित बुँदाबारे विस्तृत जानकारी नदिए पनि जेलेन्स्कीले पछि उक्त विषय पूर्वी युक्रेनको भविष्यको स्थितिसँग सम्बन्धित रहेको प्रष्ट पारे। जेलेन्स्कीले अबको वार्तामा युक्रेन मात्र नभई रुस पनि सम्झौताका लागि तयार हुनुपर्नेमा जोड दिएका छन्। अमेरिकाले युक्रेनको औद्योगिक क्षेत्र डोनबासलाई निशस्त्रीकरण गरी ‘मुक्त आर्थिक क्षेत्र’ बनाउने र त्यसको बदलामा किभलाई सुरक्षा ग्यारेन्टी दिने प्रस्ताव अघि सारेको छ।

मस्कोपछि विट्कोफले अबु धाबी पुगेर सैन्य र आर्थिक समृद्धिका विषयमा कार्यसमूहहरूसँग छलफल गर्ने तालिका छ। जेलेन्स्कीले ट्रम्पसँगको भेटमा सम्झौता भएपछि अमेरिकाले दिने सुरक्षा ग्यारेन्टीबारे पनि सहमति भएको बताएका छन्। उक्त सहमतिलाई कार्यान्वयनमा ल्याउन अमेरिकी कांग्रेस र युक्रेनी संसद्बाट अनुमोदन गराउनुपर्नेछ। दाभोसमा सम्बोधन गर्दै जेलेन्स्कीले युरोपेली सहयोगी राष्ट्रहरूको आलोचना समेत गरे। उनले रुसविरुद्ध कदम चाल्न युरोपमा राजनीतिक इच्छाशक्तिको अभाव रहेको र आन्तरिक बहसले गर्दा ठोस समाधान निस्कन नसकेको बताए। बेलायत र फ्रान्स नेतृत्वको टोलीले सम्झौताको अनुगमनका लागि सेना परिचालन गर्न प्रतिबद्धता जनाए पनि अमेरिकी साथ बिना कुनै पनि सुरक्षा ग्यारेन्टी प्रभावकारी नहुने जेलेन्स्कीको अडान छ। ट्रम्पले युरोपलाई माया गरे पनि अहिलेको सुस्त कार्यशैलीप्रति उनले चासो नदिने जेलेन्स्कीको टिप्पणी छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *