कांग्रेसको चुनावी सभामा प्रमुख वक्ता गगन र विश्वप्रकाश
काठमाडौँ । केन्द्रीय कार्यसमितिबाट पहिलो पटक भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरेर निर्वाचनमा होमिएको नेपाली कांग्रेसले पार्टीले गर्ने चुनावी सभाका लागि तयारी गरिरहेको छ । कांग्रेसले फागुन ७ गते जनकपुरमा मधेस सभा गरेर चुनावी सभाको सुरुवात गर्ने तयारी गरेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन आयोगले फागुन ४ देखि १८ गतेसम्म प्रचारप्रसारका लागि समय तय गरेको छ । त्यसबेला हुने सभाहरूका लागि कांग्रेसले वक्ताहरू पनि तय गरेको छ । कांग्रेसमा प्रायस् निर्वाचन परिचालन समितिको संयोजक प्रमुख वक्ता हुँदै आएका छन् । कांग्रेसले यो निर्वाचनका लागि उपसभापति विश्वप्रकाश शर्मालाई ठुला सभाहरूमा वक्ता बनाउनेछ । त्यस्तै यो पटक कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार केन्द्रीय कार्यसमितिबाट घोषणा गरिसकेको छ । तसर्थ सभापति तथा भावी प्रधानमन्त्रीका उम्मेदवार थापा र उपसभापति शर्मा निर्वाचन लक्षित सभाका प्रमुख वक्ता हुनेछन् । सहमहामन्त्री डा. डिला संग्रौला पन्तले पार्टीले आधिकारिक रूपमा प्रधानमन्त्रीको उम्मेदवार तय गरेकाले सभापति थापा र निर्वाचन परिचालन समितिको संयोजक भएकाले उपसभापति शर्मा चुनावी सभाका प्रमुख वक्ता हुने जानकारी दिइन् । ‘भावी प्रधानमन्त्रीका उम्मेदवार तथा पार्टी सभापति र निर्वाचन परिचालन समिति संयोजक उपसभापति चुनावी सभाका प्रमुख वक्ता हुने भन्नेछ,’ सहमहामन्त्री डा. संग्रौलाले भनिन्, ‘उपसभापति शर्मा त देशभरका सबै स्थानमा हुने प्रमुख सभामा जाने भन्नेछ ।’ सहमहामन्त्री संग्रौलाले सभापति थापाको माग पनि धेरै स्थानबाट आएको र भ्याएसम्म जाने भन्नेमा रहेको बताइन् । कांग्रेसले सभापति थापा र उपसभापति शर्मालाई चुनावी वक्ताका रूपमा देश दौडाहा गराउने तयारी पनि गरिरहेको छ । पार्टी केन्द्रीय कार्यालयले त्यसबारे निर्वाचन आयोगलाई समेत जानकारी गराइसकेको छ । पार्टी प्रवक्ता देवराज चालिसेले सभापति र निर्वाचन परिचालन समितिको संयोजकका हैसियतमा उपसभापति प्रमुख चुनावी वक्ताका रूपमा रहने जानकारी दिए । अरु वक्ता हुने स्थान अनुसार फरक–फरक हुनसक्ने चालिसेले बताए । ‘सभापति तथा भावी प्रधानमन्त्रीका उम्मेदवार एवं निर्वाचन परिचालन समितिका संयोजक निर्वाचन केन्द्रित कार्यक्रमहरूमा प्रमुख वक्ताका रूपमा रहनुहुन्छ,’ प्रवक्ता चालिसेले भने, ‘बाँकी वक्ता भने स्थान अनुसार फरक–फरक हुन सक्नुहुन्छ ।’ ठुला आमसभा र चुनावी समारोहका लागि दलहरूले वक्ता तोक्ने गरेका छन् । कांग्रेसले आयोगले तोकेको प्रचारप्रसारको अवधिमा कति ठुला चुनावी सभा गर्ने र कुन(कुन सभामा थापा र शर्मा जाने भन्ने एकिन गरिसकेको छैन । त्यसका लागि तालिका बनाउने काम भइरहेको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ । सभापति थापा आफू सर्लाही–४ बाट प्रत्यक्षतर्फ उम्मेदवार छन् । उनी यो पटक नयाँ निर्वाचन क्षेत्रमा पुगेका छन् । २०७०, २०७४ र २०७९ मा काठमाडौँ–४ बाट उम्मेदवार बन्दै जितेका थापा यो पटक त्यो क्षेत्र छोडेर मधेस झरेका छन् । थापाका लागि आफ्नै क्षेत्र नयाँ भएकाले अन्य स्थानका चुनावी सभामा कति जान पाउँछन्, त्यो भने निश्चित छैन । थापासँग पुराना सहयात्री तथा २०७९ को निर्वाचनमा कांग्रेस छोडेर स्वतन्त्र उम्मेदवार बन्दै जितेका डा. अमरेशकुमार सिंह प्रतिस्पर्धी छन् । डा. सिंह अहिले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेर त्यही पार्टीबाट उम्मेदवार बनेका छन् । उपसभापति शर्मा भने अहिले निर्वाचन लडेका छैनन् । २०७९ को निर्वाचनमा झापा–१ बाट प्रत्यक्षतर्फ जितेका शर्माले यो पटक निर्वाचन नलड्ने घोषणा गरेका थिए । शर्माले देशभर चुनाव प्रचारप्रसारमा जाने र पार्टीबाट उठेका उम्मेदवारलाई निर्वाचित गराउन भरपुर रूपमा लाग्ने बताएका छन् ।
















