रुसको ‘ब्ल्याक सी’ बन्दरगाहमा युक्रेनको आक्रमण
काठमाडौं । रुस–युक्रेन युद्धबीच शान्ति वार्ताको नयाँ प्रयास सुरु हुन लाग्दा दुवै पक्षबाट आक्रमणहरू तीव्र भएका छन् । ब्ल्याक सी क्षेत्रमा एक ठूलो आक्रमण भएको छ, जहाँ युक्रेनी ड्रोन हमलापछि रुसको एक महत्वपूर्ण बन्दरगाहमा आगलागी भएको छ । अमेरिकी मध्यस्थतामा दुवै देशका प्रतिनिधिहरूबीच नयाँ चरणको वार्ता तय भएको समयमा यो हमला भएको हो । यसले अझै पनि स्थिति तनावपूर्ण रहेको स्पष्ट पारेको छ । रिपोर्टका अनुसार, युक्रेनी ड्रोन आक्रमणका कारण रुसको क्रास्नोदार क्षेत्रमा रहेको तामान ब्ल्याक सी पोर्टमा आगलागी भएको हो । क्षेत्रीय गभर्नरका अनुसार उक्त हमलामा एक तेल भण्डारण ट्यांक, गोदाम र टर्मिनलमा क्षति पुगेको छ भने दुईजना घाइते भएका छन् । अर्कोतर्फ, रुसी ड्रोनको भग्नावशेष खस्दा युक्रेनको ओडेसा क्षेत्रमा नागरिक र यातायातका पूर्वाधारमा क्षति पुगेको छ, जसका कारण त्यहाँ बिजुली र पानीको आपूर्तिसमेत प्रभावित भएको छ । युक्रेनले लामो दूरीको ड्रोन प्रयोग गरी रुसका ऊर्जा केन्द्रहरूलाई लक्षित गरिरहेको छ । उसको मुख्य उद्देश्य रुसको तेल निर्यातबाट हुने आम्दानी घटाउनु हो ताकि युद्ध लड्ने क्षमता कमजोर बनोस् । रुसले पनि लगातार युक्रेनको पावर ग्रिड र नागरिक पूर्वाधारहरूमा आक्रमण गरिरहेको छ । युक्रेनले रुसमाथि जाडोयामलाई हतियारको रूपमा प्रयोग गरी मानिसहरूलाई तापक्रम, उज्यालो र पानीजस्ता आधारभूत सुविधाहरूबाट वञ्चित गर्न खोजेको आरोप लगाएको छ ।
शान्ति वार्ताअघिको कूटनीतिक सक्रियता
अमेरिकाको पहलमा रुस र युक्रेनका दूतहरूबीच मंगलबार र बुधबार जेनेभामा नयाँ वार्ता प्रस्तावित छ । जर्मनीमा भएको सुरक्षा सम्मेलनका क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौता हुनुअघि आफ्नो देशलाई ठोस सुरक्षा ग्यारेन्टी चाहिने बताए । जेलेन्स्कीले डोनबास क्षेत्रका लागि प्रस्तावित ‘फ्री ट्रेड जोन’ मोडेलमाथि पनि प्रश्न उठाए । युरोपेली संघकी विदेश नीति प्रमुख काजा कालासले स्थायी शान्तिका लागि रुसले पनि सहुलियत दिनुपर्ने बताए । यसअघि, अबुधाबीमा भएका वार्ताहरू डोनबास र प्रतिबन्धका मुद्दामा सहमति जुट्न नसक्दा निष्कर्षविहीन भएका थिए । एपी
















