हुम्लाका निर्वाचन प्रहरी आन्दोलित
सुर्खेत । सेवासुविधा कम भएको भन्दै निर्वाचन प्रहरीहरूले हुम्लामा आन्दोलन गरेका छन् । उनीहरूले आफ्नो सेवासुविधा कम भएको भन्दै त्यसको विरोधमा नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले निर्वाचन प्रहरीहरूले सेवासुविधाको कुरा उठाएर नाराबाजी गरिरहेको र त्यसबारे बुझ्ने काम भइरहेको बताए । निर्वाचन प्रहरीको असन्तुष्टिबारे बुझ्ने काम भइरहेको उनको भनाइ छ । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा ५९५ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ । निर्वाचन प्रहरीहरूले भने पहिले भनिएको भन्दा कम तलब दिन लागिएको सुनेपछि आन्दोलनमा उत्रिएको बताएका छन् । प्रमुख जिल्ला अधिकारी रेग्मीले नियम कानुनअनुसार नै उनीहरूले सेवासुविधा पाउने बताए ।
















