सिड्नीको मेरिल्यान्डमा चक्कु प्रहारबाट एकजनाको मृत्यु
सिड्नी । नेपालीहरूको बाक्लो बस्ती रहेको सिड्नीको मेरिल्यान्डमा मंगलबार बिहान करिब १० बजे एक युवाले नेपाली ग्रोसरीभित्र र बाहिर अन्धाधुन्ध चक्कु प्रहार गरेका छन् । चक्कु प्रहारबाट एक युवाको मृत्यु भएको छ भने एक नेपाली महिलासहित अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् । मेरिल्यान्डमा रहेको बिनाज नेपाली ग्रोसरी स्टोरभित्र किनमेल गर्दै गरेकी एक नेपाली महिलासहित तीनजनामाथि चक्कु प्रहार भएको थियो । घाइतेहरूको स्थानीय अस्पतालमा सघन कक्षमा उपचार भइरहेको छ । २२ वर्षीय एक युवकलाई घाँटीमा गम्भीर चोट लागेको छ । गम्भीर घाइते भएका उनको अस्पतालमा उपचार भइरहेको छ । नेपाली महिलाको घाँटी, छाती र पेटमा चोट लागेको छ । उनको पनि अवस्था गम्भीर छ । प्रहरीका अनुसार, यो हमला सुनियोजित भने थिएन । पीडित र आक्रमणकारीसँग चिनजान पनि थिएन ।
आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ र सोधपुछ भइरहेको जनाइएको छ । विभिन्न अपराधमा संलग्न भइसकेका ती आक्रमणकारी मानसिक स्वास्थ्य समस्याबाट पीडित रहेको बताइएको छ । २०–३० सेन्टिमिटर लामो किचन चक्कु लिएर ती आक्रमणकारीले प्रहार गर्दै हिँडेका थिए । यो घटना मेरिल्यान्ड्स ट्रेन स्टेसननजिकको व्यस्त व्यापारिक क्षेत्रमा भएको हो । घटनाको थप विवरण भने आउन बाँकी छ । यो क्षेत्र नेपाली समुदायको प्रमुख हब पनि हो ।
















