सुजल डेरीको ३ महिनामा डेढ अर्ब आम्दानी

काठमाडौं । लक्ष्मी ग्रुपअन्तर्गतको सुजल डेरी प्रालिले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमासमा करिब डेढ अर्ब रुपैयाँको सञ्चालन आम्दानी गरेको छ । कम्पनीले चालु आवको तीन महिनामा १ अर्ब ५१ करोड ६० लाख रुपैयाँ आम्दानी हासिल गरेको हो । सुजल डेरीको सञ्चालन आम्दानी क्रमशः आर्थिक वर्ष २०८१।८२ मा २ अर्ब ८८ करोड ३० लाख, आव २०८०।८१ मा २ अर्ब ३३ करोड १० लाख, आव २०७९।८० मा १ अर्ब ८६ करोड ९० लाख, आव २०७८।७९ मा १ अर्ब ७१ करोड ६० लाख र आव २०७७।७८ मा १ अर्ब २१ करोड ४० लाख रुपैयाँ पुगेको थियो । विसं २०६२ (सन् २००५) मा स्थापना भएको सुजल डेरीले स्ट्यान्डर्ड दूध, फुल क्रीम दूध, दही, आइसक्रिम, स्किम्ड मिल्क पाउडर, बटर, घिउ, पनीर, फुल क्रीम मिल्क पाउडर लगायतका दुग्धजन्य उत्पादन गर्दै आएको छ । यी उत्पादनहरूले कुल आम्दानीको करिब दुई तिहाइ हिस्सा ओगटेका छन् भने बाँकी आम्दानी पनीर, घिउ, स्किम्ड मिल्क पाउडर र बटरजस्ता विविध उत्पादनबाट आएको हो । कम्पनीका उत्पादनहरू ‘सफल’ र ‘लभ बड्र्स’ ब्रान्ड नामबाट बिक्री वितरण भइरहेको छ । सुजल डेरीको दर्ता कार्यालय र उत्पादन इकाई पोखरा(१, कास्की, गण्डकी प्रदेशमा रहेको छ । सुजल डेरीका प्रमुख सेयरधनीहरूमा अध्यक्ष गणेशबहादुर श्रेष्ठ, सुनील श्रेष्ठ, अञ्जन श्रेष्ठ, निरञ्जन श्रेष्ठ र निराकर श्रेष्ठ रहेका छन्, जसले प्रत्येकले करिब १८ प्रतिशत सेयर धारण गरेका छन् । बाँकी करिब १० प्रतिशत सेयर लक्ष्मी ग्रुपकै अर्को कम्पनी सुजल फुड प्रालिको नाममा रहेको छ । कम्पनीका अनुसार जुलाई २०२५ सम्म आफ्नो ड्रइङ पावर करिब १४१ प्रतिशत उपयोग गरिएको छ ।

पछिल्ला तीन वर्षमा नेपालमा दूध उत्पादन वृद्धिदर ०.४ प्रतिशतदेखि १.८ प्रतिशत सीमित रहेकाले दूध संकलनमा तीव्र प्रतिस्पर्धा छ । उच्च प्रतिस्पर्धा र प्रमुख दुग्धजन्य उत्पादनमा मूल्य समायोजनको सीमित क्षमताले लागत बढ्दा नाफामा दबाब परेको छ । साथै, कृषि(जलवायु जोखिमले दूध आपूर्तिमा समस्या ल्याएर कच्चा दूधको मूल्य बढाउने जोखिम रहेको कम्पनीले जनाएको छ । यद्यपि, २० वर्षभन्दा बढी अनुभव, किसान र सहकारीहरूसँग स्थापित बलियो सम्बन्ध तथा पछिल्ला दुई वर्षमा देखिएको उल्लेखनीय आम्दानी वृद्धिले कम्पनीलाई मजबुती प्रदान गरेको छ । घरेलु उपभोक्ता तथा खाद्य प्रशोधन उद्योगबाट स्थिर माग रहनु पनि सकारात्मक पक्ष मानिएको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६० करोड ६६ लाख रुपैयाँ दीर्घकालीन र ३४ करोड ९५ लाख रुपैयाँ अल्पकालीन गरी कुल ९५ करोड ६१ लाख रुपैयाँ बराबर ऋण लिएको देखिन्छ । यसअघि ६५ करोड १२ लाख रुपैयाँ दीर्घकालीन र २४ करोड ९५ लाख रुपैयाँ अल्पकालीन गरी कुल ९० करोड ७ लाख रुपैयाँ लिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *