रास्वपा चुनाव भाँड्न खोज्दै छ – एमाले

काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आसन्न चुनाव भाँड्न उद्यत रहेको आरोप लगाएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन भाँड्न देशका विभिन्न जिल्लामा दलहरूको झन्डा र चुनाव चिह्न जलाउनेलगायत कार्य गरिएको आरोप लगाइयो । आमनिर्वाचन, २०८२ मा एमालेका प्रेस संयोजक रहेका मीनबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, चुनावी परिणाम आफ्नो पक्षमा नआउने देखेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनाव भाँड्न खोज्दै छ ।

निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन हुँदै आएको उनले उल्लेख गरेका छन् । अमुक पार्टी र त्यसका नेतृत्वको तस्बिर, चिह्नअंकित टिसर्टहरू होली पर्वको मौका छोपी वितरण गरिनु त्यसका उदाहरणहरू हुन्, विज्ञप्तिमा भनिएको छ । देशमा शान्ति सुरक्षा, अमनचयन कायम हुन नसकेका कारण चुनाव भयरहित हुनेमा आफूहरू अझै विश्वस्त हुन नसकेको उनले बताएका छन् । चुनावका निम्ति सहज वातावरण बनाउन एमालेले सरकारको ध्यानाकर्षण पनि गराएको छ । मुलुकभर कुनै एक अमुक दलले नेकपा (एमाले)को आस्थाको केन्द्र ‘सूर्य’ ध्वजावाहक झन्डा जलाउने, मूल नेतृत्वप्रति घृणा फैल्याउने कार्यलाई तीव्र पारेको छ,” विज्ञप्तिमा उल्लेख छ, मुलुकलाई चुनावी द्वन्द्वमा फसाउने गम्भीर षड्यन्त्रका रूपमा भएका अवाञ्छित गतिविधिप्रति नेकपा (एमाले)को गम्भिर ध्यानाकर्षण भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *