प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । निर्वाचन विथोल्ने गतिविधि गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । प्रसाईंलाई गत फागुन ४ गते उनकै निवास भक्तपुरबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई अदालतबाट पटकपटक म्याद थप गर्दै थुनामा राखिँदै आएको थियो । प्रसाईंविरुद्ध प्रहरीले अफवाह फैलाएर सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोप थियो । उनको रिहाइका लागि उमा प्रसाईंले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चले जिल्ला प्रहरी परिसर काठमाडौं, भ्रद्रकालीका नाममा आदेश दिएको हो ।

सर्वोच्चका न्यायाधीश डा मनोजकुमार शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासको आदेशबमोजिम प्रसाईं छुट्ने प्रक्रियामा छन् । प्रसाईं राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजकसमेत हुन् । उनी माघ महिनामै दुईपटक पक्राउ परेर छुटेका थिए । पुनः फागुन ४ मा पनि पक्राउ परे । यो पटक गरेर उनी सातौँपटक पक्राउ पर्दै छुट्दै गरेका छन् । प्रसाईं पहिलोपटक २०८१ असोज ६ गते पक्राउ परेका थिए । त्यसयता उनी निरन्तर पक्राउ पर्दै आएका छन् । पछिल्लो समय उनी हिन्दुराज्य र राजसस्था पुनर्स्थापनको वकालत गर्दै आएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *