कांग्रेसले सातै प्रदेशमा जोगायो प्रतिनिधित्व

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा नेपाली कांग्रेसको नतिजा भने अत्यन्तै निराशाजनक देखिएको छ । अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ ५७ सिटमा शानदार जित हासिल गरेर पहिलो पार्टी बनेको कांग्रेस, यसपटक भने निकै कमजोर अवस्थामा पुगेको छ। अहिलेसम्मको परिणाम अनुसार कांग्रेसले मात्र १४ स्थानमा विजय हासिल गरेको भने केही सिटमा मात्रै अग्रता कायम गरेको छ । देशभरबाट प्राप्त पछिल्लो मतपरिणामले कांग्रेस नेतृत्वलाई झस्काएको छ। ‘रूख’ चिन्हमा भोट खस्ने क्रम ह्वात्तै घटेको र परम्परागत गढहरू भत्किएको प्राप्त नतिजाले देखाएको छ। लज्जास्पद परिणामबिच कांग्रेसले भौगोलिक उपस्थितिको हिसाबले भने सन्तुलन कायम गरेको छ । एकाले लगायतका परम्परागत शक्ति निश्चित भूगोलमा बढारिने सङ्केत देखिँदा थोरै सङ्ख्यामा भए पनि सातै प्रदेशको प्रतिनिधित्व जोगाएको छ। कांग्रेसले जितेका १४ सिटले सातवटै प्रदेशको प्रतिनिधित्व गरेको हो ।

हालसम्मको परिणाम अनुसार कोशी प्रदेशबाट कांग्रेसले ३ सिट, मधेसबाट एक सिट, बाग्मतीबाट एक सिट, गण्डकीबाट २ सिट, लुम्बिनीबाट एक सिट, कर्णालीबाट ४ सिट र सुदूरपश्चिमबाट २ सिट ल्याएको छ । कोशी प्रदेश अन्तर्गत अहिलेसम्म पाँचथर–१ बाट नरेन्द्र कुमार केरुङ र तेह्रथुम–१ बाट सन्तोष सुब्बा निर्वाचित भएका छन् । मधेसमा कांग्रेसलाई ठुलो धक्का लागे पनि रौतहट–२ बाट मो.फिरदोस आलमले जित निकाल्दै मधेस प्रदेशमा कांग्रेसको प्रतिनिधित्व सुनिश्चित गरेका छन्। बागमती प्रदेशमा रसुवाबाट मोहन आचार्यले जित हासिल गरेका छन्। गण्डकी प्रदेशको हिमाली जिल्लामा रहेको गढलाई कांग्रेसले सुरक्षित राखेको छ । मुस्ताङबाट २९ वर्षीय युवा योगेश गौचन थकाली र मनाङबाट टेक बहादुर गुरुङ विजयी भएका छन्। लुम्बिनी प्रदेशमा पनि कांग्रेसको उपस्थिति देखिएको छ। कपिलवस्तु–३ बाट अभिषेक प्रताप शाह र पाल्पा–१ बाट सन्दीप राना निर्वाचित भएका छन्। कर्णालीमा कांग्रेसको उपस्थिति सबैभन्दा बलियो देखिएको छ । सुर्खेत–१ बाट विष्णु बहादुर खड्का, जाजरकोट–१ बाट खडक बहादुर बुढा, दैलेख–१ बाट वासना थापा र हुम्ला–१ बाट जय पति रोकाया गरी ४ जनाले जित हासिल गरेका छन्। ‍सुदूरपश्चिममा पनि डोटी–१ बाट भरत बहादुर खड्का र अछाम–१ बाट भरत कुमार स्वारले जित निकालेका छन् । जारी मतगणनामा सोलुखुम्बु र बाजुरा गरी २ स्थानमा अग्रता कायम राखेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *