ग्यास बिक्रीको दैनिक विवरण उद्योगले आयल निगमलाई बुझाउनुपर्ने
काठमाण्डौं । नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा खाना पकाउने एलपी ग्यास अभाव अझै समाधान हुन नसकेपछि निगमले उद्योगीहरूलाई आपूर्ति व्यवस्था सहज र पारदर्शी बनाउन विशेष निर्देशन जारी गरेको छ । निगम प्रवक्ता मनोज ठाकुरले निगम र ग्यास उद्योगीहरूबीच भएको छलफलमा उद्योगीले आपूर्तिमा कुनै समस्या नभए पनि वितरण प्रणालीमा सुधार आवश्यक रहेको बताएको जानकारी दिए ।
उनका अनुसार निगमले उद्योगहरूलाई आफ्नो तोकिएको क्षमता अनुसार ग्यास निरन्तर आयात गरी बजार पठाउन र उद्योगले दैनिक रूपमा कुन विक्रेतालाई कति ग्यास पठाइयो भन्ने स्पष्ट विवरण निगममा बुझाउन निर्देशन दिएको छ । त्यसैगरी ग्यास विक्रेताहरूले पनि कसलाई ग्यास बिक्री गरे भन्ने कुराको फोन नम्बर सहित अभिलेख अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।
















