नेपालसँगको सम्बन्ध अद्वितीय र बहुआयामिक – भारत
काठमाडौं । भारतको विदेश मन्त्रालयले नेपालसँगको सम्बन्ध अद्धितीय र बहुआयामिक रहेको बताएको छ । बिहीबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले उक्त कुरा बताएका हुन् । नेपालमा फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन भएपछि पहिलोपटक नेपालका विषयमा प्रतिक्रिया जनाउँदै जयसवालले भने, तपाईंलाई थाहा भएकै कुरा हो, नेपाल र भारतको अद्वितीय र बहुआयामिक साझेदारी र सम्बन्ध छ । हामी आशा गर्छौं कि यो गतिशीलता आउने दिन र वर्षहरूमा अझ बलियो हुँदै जानेछ । नेपालमा चुनाव सफलतापूर्वक सम्पन्न भएपछि भारतले चुनावको परिणामलाई स्वागत गरेको जनाए ।
पत्रकार सम्मेलनमा चुनाव सम्पन्न भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहसँग टेलिफोन वार्ता गरेको उनले स्मरण गरेका थिए । भारतीय प्रधानमन्त्रीले रास्वपाका दुवै नेताहरूलाई उनीहरूले प्राप्त गरेको चुनावी विजय र रास्वपाले पाएको सानदार सफलताको लागि बधाई दिएको समेत जयसवालले जनाए । जयसवालका अनुसार, भारतीय प्रधानमन्त्रीले रवि–बालेनलाई नजिकको मित्र र छिमेकीको रूपमा भारत नेपालका जनता र नयाँ सरकारसँग नजिकबाट काम गर्न चाहेको बताएका थिए ।
















