नेविसंघको कार्यवाहक अध्यक्षमा पाण्डे

काठमाण्डौं । नेविसंघको कार्यवाहक अध्यक्षको जिम्मा नारायण पाण्डेले पाएका छन् । अध्यक्ष दुजाङ शेर्पाले आफू बाहिर जानुपर्ने भएकोले कार्यवाहकको जिम्मेवारी पाण्डेलाई दिएका हुन् । पाण्डे नेविसंघको केन्द्रीय सदस्य तथा नीति अनुसन्धान तथा प्रशिक्षण विभाग प्रमुख पनि हुन् । विद्यार्थी संगठनलाई केवल पार्टीको भातृ संस्थाको रूपमा सीमित नराखी स्वायत्त, वैचारिक र नीतिगत रूपमा सक्षम बनाइनुपर्छ भन्ने धारणा पाण्डेले निरन्तर उठाउँदै आएका छन् । संगठनभित्र नीति अनुसन्धान, प्रशिक्षण र वैचारिक बहसलाई संस्थागत गर्नुपर्छ भनेर वकालत गर्दै आएका छन् । नेविसंघले आगामी ६ चैतमा त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा बस्नेगरी सिनेट बैठक बोलाएको छ ।

बैठकमा विशेष गरी तीन एजेन्डामा छलफल हुने सूचनामा उल्लेखित छ । जसमा नेविसंघको संशोधित एवं परिमार्जित विधान, नेविसंघको १२ औँ केन्द्रीय महाधिवेशनको कार्य तालिका र विविध विषयमा छलफल हुने उल्लेख छ । नेविसंघको विधानअनुसार सिनेटलाई नेविसंघको सर्वोच्च निकाय मानिन्छ । जसको अध्यक्ष नेविसंघको केन्द्रीय अध्यक्ष नै रहने प्रावधान छ । यस्तै केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य सिनेटका पदेन सदस्य रहन्छन् । यस्तै नेविसंघका प्रदेश अध्यक्षहरू, सबै जिल्ला अध्यक्ष, स्ववियु परिषद्का सभापति, स्ववियु तथा कल्याण परिषद्का अध्यक्षहरू, विश्वविद्यालय क्याम्पस समितिका अध्यक्षहरू, विश्वविद्यालय समन्वय समितिका अध्यक्षहरू, प्राविधिक विद्यार्थी परिषद्का अध्यक्ष र सीटीईभीटी समन्वय समितिका अध्यक्ष पनि सिनेटका सदस्य हुन्छन् । यस्तै विदेश क्षेत्रका अध्यक्ष तथा स्ववियु निर्वाचन हुने क्याम्पस एकाइका अध्यक्ष पनि सिनेटका सदस्य रहने प्रावधान छ ।सिनेट बैठकमा नेविसंघलाई केवल पार्टीको भ्रातृ संस्थाको रूपमा सीमित नराखी स्वायत्त बनाउने विषयमा छलफल हुने पाण्डेले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *