प्रदूषण आजबाट केही कम हुने

काठमाडौं । केही दिनदेखि बढेको वायु प्रदूषण आजबाट क्रमशः घट्दै जाने जल तथा मौसम विज्ञान विभागले बताएको छ । आजदेखि वायुमण्डलमा मौसमी गतिविधि बढ्दै जाने देखिएको तथा देशका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना देखिएकोले मौसमको हालको अवस्थामा क्रमिक रुपमा केही सुधार हुने सम्भावना रहेको विभागको भनाइ छ । केही समय यता नेपालको उपल्लो वायुमण्डलमा उच्चचापीय मौसम प्रणाली स्थिर रही पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुन सकेको छैन । वायुमण्डलको तल्लो तहमा न्यूनचापीय गतिविधि बढ्न नसकेका कारण पर्याप्त वर्षा हुन नसकी प्रदूषण वायुमण्डलको तल्लो तहमै संचित भएर रहँदा केही दिनदेखि देशका धेरै भूभागहरू तुवाँलोले प्रभावित भएको छ । विभागले तुवाँलोको कारणले स्वास्थमा पर्न सक्ने असरबाट बच्न आवश्यक सुरक्षाका उपाय अपनाउन पनि अनुरोध गरेको छ ।

यसैबीच, आज दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेस प्रदेशको थोरै स्थानमा, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले प्रस्ट पारेको छ । राति कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी प्रदेशको केही स्थानमा, वाग्मती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले बताएको छ । “तुलनात्मक रुपमा आज कोसी, वाग्मती र गण्डकीमा वर्षाको अन्य प्रदेशको भन्दा धेरै सम्भावना छ,” मौसमविद् विनु महर्जन भन्छिन् । काठमाडौंमा पनि आज वर्षाको सम्भाना रहेको उनको भनाइ छ । “अपराह्नको समयमा आज काठमाडौंमा हल्कादेखि मध्यम वर्षाको सम्भाना छ,” मौसमविद् महर्जन भन्छिन्, “अपराह्नको समयमा काठमाडौंमा दुईरतीन घण्टा डिस्टर्व हुनसक्छ । पानी केही समय पर्ने र रोकिने हुनसक्छ । निरन्तर दुईरतीन घण्टा पर्देन । केही समय रोकिने र पर्ने हुन्छ ।” उनका अनुसार काठमाडौंमा राति पनि वर्षाको सम्भावना छ । प्रि–मनसुन सुरु भइसकेकाले अपराह्न र साँझको समयमा मेघगर्जन र चट्याङसहित वर्षा हुने उनी बताछिन् । “पानी पर्ने भएकाले तुवाँलो पनि केही कम हुने सम्भाना छ,” उनले प्रस्ट पारिन् । हाल नेपालमा पश्चिमी वायू, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *