सातदोबाटोमा ‘जेन–जी’ शहीद स्मारक पार्क बन्दै
काठमाडौं । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ शहीदमध्ये ४२ जनाको शालिकसहित ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा ‘जेन–जी’ शहीद स्मारक पार्क निर्माण सुरु गरिएको छ। तत्कालीन युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद्को १२४औँ बोर्ड बैठकले पार्क निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेपछि निर्माण कार्य अघि बढाइएको हो। ऐतिहासिक तथा मौलिक शैलीमा निर्माण गर्न लागिएको यस स्मारक पार्कले जेन–जी आन्दोलनका शहीदहरूको योगदानलाई दीर्घकालसम्म स्मरणीय बनाइराख्ने विश्वास गरिएको छ।
















