ग्यासको आपूर्तिमा समस्या, समाधानका प्रयासबारे जवाफ पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं । एलपी ग्यासको आपूर्ति सहज नहुँदा संविधानप्रदत्त खाद्यसम्बन्धी हक र उपभोक्ताको अधिकारमाथि आघात पुगेको दाबीसहित दायर रिटमा सर्वोच्च अदालतले समस्या समाधानका लागि भइरहेका प्रयासबारे जवाफ पेस गर्न सरकारलाई आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश मनोज कुमार शर्माको एकल इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै शुक्रबार (फागुन २९) मा उक्त आदेश दिएको हो । नेपाल ल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू रोशन आउजी र विवेक चौधरीले रिट दायर गरेका थिए । सर्वोच्चले उक्त रिटलाई चाँडो टुंगोमा पुर्‍याउन ‘अग्राधिकार’ समेत प्रदान गरेको छ । आपूर्ति सहज बनाउन माग गरिएको अन्तरिम आदेशको विषयमा सर्वोच्च अदालतले विपक्षीहरूको लिखित जवाफ प्राप्त भएपछि मात्र थप निर्णय लिने बताउँदै तत्कालका लागि अन्तरिम आदेश जारी गर्न भने अस्वीकार गरेको छ । ग्यासको अभाव र आपूर्ति सहजताको विषयमा १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेशमा भनिएको छ । अब यो विवादमा सरकारबाट लिखित जवाफ पेस भएपछि मात्र सुनुवाइ अघि बढ्ने भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *