सरकारद्धारा इरानी नागरिकलाई दिँदै आएको ‘अन–अराइभल’ भिसा बन्द गर्ने निर्णय
काठमाडौं । नेपाल सरकारले इरानी नागरिकलाई दिँदै आएको ‘अन–अराइभल’ भिसा बन्द गर्ने निर्णय गरेको छ । अध्यागमन विभागले शुक्रबार यस्तो निर्णय गरेको हो । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले अन अराइभल भिसा उपलब्ध नगराउने भएको छ, अध्यागमन विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेको छ । सरकारी र कूटनैतिक राहदानीबाहक बाहेकका इरानी नागरिकले अब विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएर मात्र नेपाल प्रवेश गर्न मिल्ने विभागले जनाएको छ ।
यससँगै नेपालमा अन अराइभल भिसा प्राप्त नहुने मुलुकको संख्या १३ पुगेको छ, विभागको विज्ञप्तिमा उल्लेख छ । नेपालले यसअघि नाइजेरिया, घाना, जिम्बाब्बे, स्वाजील्याण्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टीन, अफगानिस्तान र सिरियाका नागरिकलाई अन अराइभल भिसामा रोक लगाउँदै आएको थियो । अब यो सूचीमा इरान थपिएको छ । यसैगरी शरणार्थी स्टाटसका ट्राभल डकुमेन्ट भएका व्यक्तिले पनि नेपाल प्रवेश गर्दा विदेशस्थित नेपाली दूताबासबाट भिसा लिएर मात्र नेपाल प्रवेश गर्न पाउने व्यवस्था छ, अध्यागमनले भनेको छ ।
















