काँकडभिट्टामा सवा अर्ब लगानीको पाँचतारे होटल ‘अश्वत्थ’ सञ्चालनमा आउँदै
काठमाडौं । झापाको काँकडभिट्टामा निर्माणाधीन पाँचतारे स्तरको होटल अश्वत्थ प्रालि अन्तगर्तको ‘होटल अश्वत्थ’ परियोजना अन्तिम निर्माण चरणमा पुगेको छ। एक अर्ब ३० करोड रुपैयाँको लगानीमा निर्माण भइरहेको उक्त होटल सन् २०२७ अप्रिलसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ। पूर्वी नेपालको प्रमुख प्रवेश नाका मानिने काँकडभिट्टा क्षेत्रमा निर्माण भइरहेको यो होटलले सीमावर्ती पर्यटन तथा व्यापारिक गतिविधिलाई थप गति दिने अपेक्षा गरिएको छ। परियोजनाको कुल लागत अनुमानित १ अर्ब ३० करोड रुपैयाँ रहेको छ, जसमा ३१ प्रतिशत इक्विटी अर्थात् स्वपुँजी र ६९ प्रतिशत ऋण लगानी रहने संरचना तय गरिएको छ। होटलका प्रवर्द्धकहरूले हालसम्म करिब ११ करोड रुपैयाँ इक्विटीका रूपमा लगानी गरिसकेका छन् भने बाँकी रकम बैंक तथा वित्तीय संस्थामार्फत ऋण स्वरूप व्यवस्थापन गरिने योजना रहेको छ। परियोजनालाई दुई चरणमा विभाजन गरेर निर्माण कार्य अघि बढाइएको छ। पहिलो चरणअन्तर्गत ४४ वटा कोठा रहेको भवन ब्लकको निर्माण सम्पन्न भइसकेको छ र त्यसको सञ्चालन तयारी भइरहेको छ। दोस्रो चरणमा थप ४० कोठा र क्यासिनो सुविधा समावेश गरिएको अर्को ब्लक निर्माणाधीन रहेको छ। हालसम्म परियोजनाको समग्र भौतिक तथा वित्तीय प्रगति करिब ३९ प्रतिशत पुगेको विवरणमा उल्लेख गरिएको छ। होटल पूर्ण रूपमा सञ्चालनमा आएपछि यहाँ कुल ८४ वटा सुविधासम्पन्न कोठा रहनेछन्। पर्यटक तथा व्यवसायिक आगन्तुकलाई लक्षित गर्दै होटलमा क्यासिनो, बहु–व्यञ्जनयुक्त रेस्टुरेन्ट, स्विमिङ पुल, आधुनिक जिम, सम्मेलन केन्द्र तथा ठूलो क्षमताको भोज हल (बैङ्क्वेट हल) लगायतका प्रिमियम सेवा–सुविधा उपलब्ध गराइनेछ। यस्तो स्तरको पूर्वाधारले पूर्वी नेपालमा उच्चस्तरीय आवास र सम्मेलन सेवाको अभावलाई केही हदसम्म पूर्ति गर्ने अपेक्षा गरिएको छ। होटल नेपाल–भारत सीमाबाट करिब ३.५ किलोमिटर पश्चिमतर्फ अवस्थित छ र महेन्द्र राजमार्गसँग प्रत्यक्ष रूपमा जोडिएको छ।
साथै यो भारतको पश्चिम बंगालस्थित बागडोग्रा अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २४.८ किलोमिटर तथा भद्रपुर विमानस्थलबाट १८.६ किलोमिटर दूरीमा रहेको छ। यसले भारतको पश्चिम बंगाल, सिक्किम तथा अन्य क्षेत्रबाट आउने पर्यटकका लागि होटललाई सहज पहुँचयुक्त गन्तव्य बनाउने सम्भावना रहेको छ। त्यसैगरी इलामका प्रसिद्ध पर्यटकीय स्थल कन्याम, अन्तु डाँडा तथा पाथिभरा दर्शनका लागि जाने पर्यटकहरूका लागि पनि यो होटल एक प्रमुख विश्राम तथा बसोबास केन्द्र बन्न सक्ने देखिन्छ। होटल परियोजनाको नेतृत्व व्यवसायी प्रज्वल घिमिरेले गरिरहेका छन्। कम्पनीका अध्यक्ष घिमिरे सेवा क्षेत्र, मिडिया, थियटर तथा अन्य व्यवसायिक क्षेत्रमा अनुभव भएका उद्यमीका रूपमा परिचित छन्। यसैबीच होटल परियोजनालाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले होटलको कुल एक अर्ब १० करोड रुपैयाँ बराबरको बैंक कर्जा सुविधाका लागि रेटिङ निर्धारण गरेको । कम्पनीको दीर्घकालीन बैंक सुविधाका लागि बी प्लस र अल्पकालीन कर्जा सुविधाका लागि एफोर रेटिङ प्रदान गरिएको हो। होटलले दीर्घकालीन कर्जा सुविधाअन्तर्गत १ अर्ब ६ करोड २० लाख रुपैयाँ र अल्पकालीन कर्जा सुविधाअन्तर्गत ३ करोड ८० लाख रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ।
















