शंखनाद र स्वस्तिवाचनबीच प्रधानमन्त्री बालेन्द्रको शपथ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले धार्मिक तथा सांस्कृतिक विधिसहित शपथ ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा मध्यान्ह १२ः३४ मा शपथ भएको थियो । राष्ट्रपति पौडेलले शपथ गराउँदै गर्दा १०८ बटुकले स्वस्ति वाचन गरे । १०८ भिक्षुहरुले मंगलपाठ पढे । शीतल निवासमा उनले ईश्वर देश र जनताका नाममा आफ्नो प्रतिबद्धता व्यक्त गरे । शीतल निवासमा शपथग्रहणपछि सिंहदरबारमा पदभार ग्रहण गर्दै बालेन्द्रले पहिलो मन्त्रिपरिषद्को बैठक पनि सम्पन्न गरेका छन् । मन्त्रिपरिषद्को पहिलो बैठकले जेनजी आन्दोलनको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णय लिएको छ । विभिन्न मुलुकमा शपथका विभिन्न प्रचलन छन् । ती मध्ये भारत, अमेरिका र चीनको शपथ प्रक्रिया यहाँ चर्चा गरिएको छ । भारतमा प्रधानमन्त्रीले आफ्नो जिम्मेवारी सम्हाल्नुअघि राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिनुपर्छ । संविधानप्रति निष्ठाको औपचारिक प्रतिज्ञा अनिवार्य रूपमा जनाउनुपर्छ । भारतीय संविधानको धारा ७५ ले शपथलाई अनिवार्य गरेको छ । भारतमा राष्ट्रपति भवनमा औपचारिक शपथ समारोह आयोजना हुन्छ ।

औपचारिक समारोहमा प्रधानमन्त्रीले संविधानप्रति सच्चा विश्वास र निष्ठा राख्ने तथा आफ्नो कर्तव्य इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिज्ञा गर्छन् । यस क्रममा दुई प्रकारका शपथ लिइन्छ जसमा एक पदको शपथ र अर्को गोपनीयताको शपथ हुन्छ । समारोहमा उच्च पदस्थ अधिकारीहरू, विदेशी कूटनीतिज्ञहरू र विशिष्ट अतिथिहरूको उपस्थिति रहन्छ । शपथपछि मात्र प्रधानमन्त्री र मन्त्रिपरिषद्ले औपचारिक रूपमा शासन सञ्चालन सुरु गर्छन् । शपथ ग्रहणपछि मात्र प्रधानमन्त्री र उनको मन्त्रिपरिषद्ले औपचारिक रूपमा आफ्नो कार्य प्रारम्भ गर्न पाउँछन् । अमेरिकामा राष्ट्रपतिको शपथ संविधानद्वारा स्पष्ट रूपमा परिभाषित छ । अमेरिकी संविधानको धारा २ को उपधारा ८ मा यसको विवरण उल्लेख छ । शपथ समारोह अमेरिकी क्यापिटलमा आयोजना गरिन्छ । शपथ समारोहमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीनै अंगको उपस्थिति हुन्छ । परम्पराअनुसार सर्वोच्च अदालतका प्रधानन्यायाधीशले शपथ गराउँछन् । विशेष परिस्थितिमा अन्य व्यक्तिहरूले पनि शपथ गराएका उदाहरण छन् । सन् १७८९ मा जर्ज वासिङ्टनलाई न्यूयोर्कका चान्सलर रोबर्ट लिभिङस्टनले शपथ गराएका थिए । १९२३ मा क्याल्भिन कु लिजलाई उनका बुबाले शपथ गराएका थिए । सन् १९३७ देखि नयाँ राष्ट्रपतिले जनवरी २० मा दिउँसो १२ बजेबाट कार्यकाल सुरु गर्ने प्रावधान लागू गरिएको छ । यदि त्यो दिन आइतबार परेमा निजी रूपमा शपथ लिएर भोलिपल्ट सार्वजनिक समारोह गरिन्छ । अमेरिकामा दाहिने हात उठाएर शपथ लिने प्रचलन पनि छ । देब्रे हात बाइबलमा राख्ने कानुनी बाध्यता नभए पनि कतिपय राष्ट्रपतिहरूले बाईबलसहित शपथ लिन्छन् । अमेरिकी संविधानले ईश्वरको नाममा कसम खानुको सट्टा धर्मनिरपेक्ष रूपमा दृढ प्रतिज्ञा गर्ने विकल्प पनि दिएको छ । क्वेकर्स समूहले कसम खानुलाई धार्मिक रूपमा राम्रो मान्दैनन् । यस्तो विकल्प प्रयोग गर्ने एक मात्र राष्ट्रपति फ्र्याङ्कलिन पियर्स हुन् ।

सन् १९५३ मा ड्वाइट डी. आइजनहावरले शपथको अन्त्यमा प्रार्थना गरेर नयाँ परम्पराको सुरुवात गरेका थिए । चीनले २०१८ मा संविधान संशोधनमार्फत शपथलाई संविधानकै अभिन्न अंग बनायो । चिनियाँ शपथ प्रणालीको मूल केन्द्र ‘संविधानप्रति वफादारी’ हो । त्यससँगै ‘समाजवादी आधुनिक राष्ट्र निर्माण’ को लक्ष्यलाई पनि उत्तिकै महत्त्व दिइएको छ । जनवादी गणतन्त्र चीन स्थापना (१९४९) देखि सन् २०१५ सम्म कुनै औपचारिक शपथ प्रणाली थिएन । त्यसैले सन् २०१६ पछि सुरु भएको यो अभ्यासले शासन संस्कृतिमा नयाँ अध्याय थपेको मानिन्छ । शपथ समारोहमा राष्ट्रिय गान अनिवार्य रूपमा बजाइन्छ, जसले यसलाई व्यक्तिगत प्रतिज्ञा मात्र नभई राष्ट्रिय भावनासँग जोडिएको सामूहिक क्षण बनाउँछ । नेशनल पिपल्स कंग्रेसद्वारा नियुक्त वा निर्वाचित काउन्टी स्तरभन्दा माथिका सबै अधिकारीहरूलाई शपथ अनिवार्य गरिएको छ । २०१८ मा शपथको अन्त्यमा “समृद्ध, सुदृढ, लोकतान्त्रिक, सांस्कृतिक रूपमा उन्नत, सुमधुर र सुन्दर आधुनिक समाजवादी राष्ट्र निर्माणका लागि समर्पित रहनेछु” भन्ने वाक्यांश समावेश गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *