बस्नेतविरुद्ध तत्काललाई पक्राउ पुर्जीको अनुमति दिन अदालतद्वारा अस्वीकार

काठमाडौं । जिल्ला अदालत काठमाडौंले एमाले नेता महेश बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने अनुमति दिन अस्वीकार गरेको छ । एमाले नेता महेश बस्नेतविरुद्ध एक महिलाले प्रहरीमा दिएको ‘भ्रुण हत्या, बलात्कार र चोरी डाँका’ सम्बन्धी जाहेरी लिन अस्वीकार गरेपछि हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा जाहेरी पठाइएको थियो । उक्त प्रकरणमा जाहेरी अनुरूप सरकारी वकिलले मुद्दा नचल्ने निर्णय भएको थियो ।

उक्त निर्णय विरुद्ध परेको रिट निवेदन पनि उच्च अदालत पाटनबाट खारेज भएको थियो । आफ्नो पूरक जाहेरीमा समेत कुनै कारबाही अघि नबढेको भन्दै ती महिलाले अर्को रिट पनि दिएकी छन् । उक्त रिट उच्च अदालत पाटनमा विचाराधीन छ । माथिल्लो तहको अदालतमा विचाराधीन अवस्थामा रहेको विषयमा जिल्ला अदालतबाट अन्य आदेश जारी गर्न नमिल्ने भन्दै आदेश भएको जिल्ला अदालत स्रोतले बतायो । अब यो विवादमा उच्च अदालत पाटनमा विचाराधीन रिटको टुङ्गो लागेपछि मात्रै जिल्ला अदालतबाट विचार हुने छ । तत्कालका लागि माग बमोजिम पक्राउ अनुमति जारी भने नहुने भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *