लामिछानेले सदनमा उभिएर भनेका मुख्य बुँदा

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गरेका छन् । उनले २५ मिनेट समय पाए पनि करिब आधा समयमै आफ्नो सम्बोधन टुंग्याएका थिए ।
सम्बोधनका क्रममा उनले भनेका विषय बुँदागत रुपमा हेरौँ

–ऐतिहासिक रेकर्डका साथ जनताले मत दिएका छन् । यो मतादेशको गुन जिम्मेवारी पूरा गरेर तिर्नेछौँ । मतादेशमा आशा र आक्रोश मात्रै छ ।

–सिंहदरबार चलाउन होइन बदल्नका लागि दिएको मत हो । हामीले बदल्न सुरु गरिसकेका छौँ ।

–अब हामी सत्तारुढ दलले बोलेर मात्रै पुग्दैन अब प्रमाणित गर्नुपर्छ । हाम्रा काम र सरकारका काम बोल्नेछन् ।

–हनिमुन पिरियडको सुविधा चाहिँदैन । दिन होइन सेकेन्ड गनेर काम गरेका छौँ ।

–कर्मचारीतन्त्रले सरकारसँग गति मिलाउन तयार हुनुपर्छ ।

–प्रधानमन्त्रीले आवश्यक परे बोलेर नभए कामबाटै देखाउनुहुनेछ ।

–रास्वपाका साथीहरुलाई सम्झाउछौँ– हामी प्रश्न सोधेर आएका हौँ । अब प्रश्नमात्रै होइन उत्तर दिनुपर्छ ।

–प्रतिपक्षलाई अनुरोध छ– हामीलाई चौबीसैघण्टा निगरानी गरिदिनुहोला ।

–हामीमा अहंकार नछाओस् । लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष परिपुरक हुन् ।

–हामी प्रतिपक्षको आवाज कमजोर हुन दिने छैनौँ । यो संसद् प्रतिशोध होइन बहसको थलो हुनेछ ।

–हिजो आफूलाई बचाउन र अर्कोलाई फसाउन कानुन नै ल्याइयो । आस्थाकै आधारमा फसाइयो अब त्यस्तो हुने छैन ।

–अब कसैको माइक काटिने छैन ।

–सुशासनको बेग रोकिने छैन । न्याय पाउने पहिलो हक सहिदकी आमाको हो त्यसलाई प्रतिशोध भन्न पाइने छैन ।

–यो संसद् जेनजी विद्रोहपछि बनेको हो । त्यसकारण सहिदको सपना साकार पार्न लाग्नेछौँ ।

–पार्टीका सिफारिसबाट नियुक्ति लिएकाले राजीनामा दिएर सहयोग गर्न अनुरोध गर्दछु ।

–एकचोटीको नेपाली सधैँको नेपाली हुनेछ ।

–हाम्रा सांसद खगेन्द्र सुनारले उमेदवार हुनुअघि गरेको गल्तीमा प्रश्न उठेपछि तत्कालै माफी माग्नुभयो तर उहाँहरुमाथि हामीले वर्षौंदेखि गरेको थिचोमिचोको कहिल्यै माफी माग्यौँ ?

–सरकारले दलितसहित पछि परेका समुदायमाथि सार्वजनिक माफी माग्दैछ । त्यो पनि यो सदनबाट । दलितमाथि अहिलेसम्म भएको विभेद सामाजिक गल्ती होइन संगठित अपराध थियो ।

–कुनै नेपाली जातका नाममा झुक्नुपर्ने छैन । मैले माफी माफी माग्छु ।

–विदेशमा बसेका नेपालीले लगाएको गुन कहिल्यै बिर्सने छैनौँ ।

–अब खाडी पुग्ने राजदूत विचौलियाको टेबलमा होइन कामदार भएको स्थानमा पुग्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *