नवकान्तिपुर साकोसद्वारा सदस्य अन्तरक्रिया तथा कर्मचारी उत्प्रेरणा कार्यक्रम सम्पन्न
काठमाडौं । नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा ‘सहकारीमा युवा सहभागीता आजको आवश्यकता’ विषयक सदस्य अन्तरक्रिया तथा कर्मचारी उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष शिवप्रसाद सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष सविना ढकालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्। कार्यक्रममा स्रोत व्यक्ति रमण भट्टराईले उपस्थित सदस्यहरुलाई सकारात्मक सोचको विकास सम्बन्धी व्यवहारिक अभ्यास गराउँदै सकारात्मक सोच र योगदानकै कारण संस्थाले उपलब्धि हासिल गर्न सक्ने बताए। उनले सकारात्मक विचारबाट नै सकारात्मक निर्णय सम्भव हुने भन्दै सबैलाई सकारात्मक सोचका साथ अघि बढ्न प्रेरित गरे। अन्तरक्रिया कार्यक्रममा सहभागी सदस्यहरुले सहकारीको वर्तमान अवस्था र भावी योजनाबारे आ–आफ्नो राय तथा प्रतिक्रिया व्यक्त गरेका थिए। अध्यक्ष सिटौलाले देशको समग्र व्यवस्थापन युवा केन्द्रित बन्दै गएको सन्दर्भमा सहकारी क्षेत्रमा पनि युवाको सहभागिता बढाउन विशेष कदम चाल्नुपर्ने आवश्यकता रहेको बताए।
साथै सहकारी दिवसको नारालाई सार्थक बनाउन युवाहरुको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे। कार्यक्रममा संस्थाका महाप्रबन्धक हरिप्रसाद पाण्डेले संस्थाले सहकारी नियमन प्राधिकरणबाट इजाजत प्राप्त गरी कर्जा सूचना केन्द्रको सदस्यता समेत प्राप्त गरेको जानकारी गराए। उनले नियमन प्राधिकरणले निर्धारण गरेको बचत मापदण्डबारे चर्चा गर्दै नियमित बचतको महत्व तथा नियमित बचतकर्ताले पाउने सुविधा र लाभबारे सदस्यहरुलाई जानकारी गराए। सदस्य अन्तरक्रिया कार्यक्रमको समापनसँगै संस्थाले कर्मचारी उत्प्रेरणा कार्यक्रम पनि आयोजना गरेको थियो। उक्त कार्यक्रममा कर्मचारीहरुलाई कार्यबोझ व्यवस्थापन गर्दै प्रभावकारी कार्यसम्पादन गर्न उपयोगी व्यवहारिक सीप प्रदान गरिएको थियो। कार्यक्रम कर्मचारी नारायबाबु कँडेलले सञ्चालन गरेका थिए।















