महान्यायाधिवक्तामा डा.नारायणदत्त कँडेल नियुक्त
महान्यायाधिवक्तामा डा. नारायणदत्त कँडेल नियुक्त भएका छन् । आइतबारको मन्त्रिपरिषद् बैठकले कँडेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बागलुङको बिहुँमा जन्मिएका कँडेलले बेलायतको क्विन्स युनिभर्सिटीबाट कानुनमा विद्यावारिधि गरेका छन् । कानुनी पेसामा प्रवेश गर्नुअघि कँडेल पत्रकारितामा थिए । २०४९ सालबाट पत्रकारिता सुरु गरेका उनले दशकभन्दा बढी समय रेडियो नेपाल, राजधानी दैनिक, राष्ट्रपुकार र नेपाल वाणी साप्ताहिकजस्ता सञ्चारमाध्यममा आबद्ध भएर काम गरेका थिए ।
२०६० सालमा नेपाल बार काउन्सिलबाट अधिवक्ताको प्रमाणपत्र लिएसँगै उनी कानुनी क्षेत्रमा प्रवेश गरेका थिए । नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेका उनले त्यसपछिको अध्ययन भने विदेशी विश्वविद्यालयबाट गरेका छन् । सन् २००७ मा नेसनल युनिभर्सिटी अफ आयरल्यान्डबाट अन्तर्राष्ट्रिय शान्ति अध्ययन गरेका उनले २००९ मा बेलायतको अलस्टर युनिभर्सिटीबाट कानुनमा स्नातकोत्तर गरेका छन् । त्यसपछि उनले बेलायतको क्विन्स युनिभर्सिटीबाट कानुनमा विद्यावारिधि गरेका छन् । उनले फ्रिडम फोरम, एम्नेस्टी इन्टरनेसनल र मानवअधिकार तथा शान्ति समाजलगायत संस्थाहरूमा रहेर काम गरेको अनुभव पनि सँगालेका छन् ।
















