खेलाडीहरूले देशका लागि खेल्छन्, त्यसैले उनीहरूको जीवनयापन र भविष्यप्रति राज्य गम्भीर हुनुपर्छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं । नेपाल सितोरियो कराते डो संघ, सतुङ्गल शाखाद्वारा आयोजित ‘गणेशमान सिंह स्मृति कराते टुर्नामेन्ट’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ प्रमुख अतिथिका रूपमा सहभागी भई सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकारले विशेष नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको बताए। उनले खेलाडी, प्रशिक्षक र रेफ्रीहरूको भूमिकालाई उच्च मूल्यांकन गर्दै उनीहरूको हितमा लक्षित योजनाहरू अगाडि बढाइने स्पष्ट पारे।

डोजोका अध्यक्ष विजयनारायण श्रेष्ठलाई धन्यवाद व्यक्त गर्दै मुख्यमन्त्री बानियाँले कार्यक्रममा उपस्थित पूर्वमन्त्री पुकार महर्जन, माननीय यमुना श्रेष्ठ, प्रशिक्षकहरू तथा खेलाडीहरूलाई समेत आभार व्यक्त गरे। उनले बागमती प्रदेशका खेलाडीहरूले निर्धक्क रूपमा खेल्न पाउने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाउँदै देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउने जिम्मेवारी खेलकुद क्षेत्रको भएको उल्लेख गरे। खेलाडीहरूले देशका लागि खेल्छन्, त्यसैले उनीहरूको जीवनयापन र भविष्यप्रति राज्य गम्भीर हुनुपर्छ, उनले भने । मुख्यमन्त्री बानियाँले लोकतन्त्र र गणतन्त्र स्थापना गर्न खेलाडीहरूको पनि महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै अब राज्यले उनीहरू र उनीहरूका परिवारका लागि विशेष खालका प्याकेज ल्याउनुपर्नेमा जोड दिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *