नेपाली कांग्रेसको दल नेतामा सर्वसम्मत चयन भए आङदेम्बे
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे सर्वसम्मत चयन भएका छन् । निर्वाचन समितिका संयोजक सहमहामन्त्री प्रकाश स्नेह रसाइलीद्वारा दलको नेता सर्वसम्मत भएका हुन् । आङदेम्बेलाई दलको नेता बनाउने प्रस्ताव संसदीय दलको बैठकबाट सर्वसम्मत पारित भएको निर्वाचन समितिका संयोजक सहमहामन्त्री रसाइलीले बताए ।
को हुन् कांग्रेस संसदीय दल नेतामा निर्वाचित आङ्देम्बे ?
२०७८ सालमा भएको कांग्रेसको १४ औँ महाधिवेशनमा आदिवासी जनजाती कोटामा सहमहामन्त्री निर्वाचित भएका आङ्देम्बेले प्रतिनिधि सभाको दोस्रो यात्रामा नै दलको नेता बन्ने सौभाग्य प्राप्त गरेका हुन् । यसअघि उनी २०७० सालमा भएको दोस्रो प्रतिनिधि सभा निर्वाचनमा प्रतिनिधि सभाको समेत काम गरे संविधानसभाको सदस्य बनेका थिए । त्यो बेला उनी प्रतिनिधि सभाको उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित सम्बन्ध समिति सभापति भएर काम गरेका थिए ।०७८ सालमा भएको कांग्रेसको १४ औँ महाधिवेशनमा शेरबहादुर देउवा प्यालनबाट उम्मेदवार बनेर सहमहामन्त्री जितेका आङ्देम्बे २०३६ सालमा भएको जनमत सङ्ग्रहदेखि निरन्तर कांग्रेसका विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आइरहेका छन् । जनमत सङ्ग्रहमा कांग्रेसबाट बहुमतको पक्षमा उभिएका आङ्देम्बेले २०४२ सालमा नेपाल विद्यार्थी सङ्घको सदस्यता लिएका थिए । २०४६ सालदेखि २०५२ सालसम्म नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सदस्य भएर काम गरेका आङ्देम्बे २०५४ सालमा नेपाल तरुण दलको उपाध्यक्ष बनेका थिए । कांग्रेसका ११, १२ र १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्य बन्दै जिम्मेवारी निर्वाह गरेका आङदेम्बे १४ औँ महाधिवेशनबाट सहमहामन्त्री बने । आङ्देम्बे २०२१ साल असोज १५ गते पिता धनेन्द्रराज र माता डम्बरकुमारीको कोखबाट पाँचथरमा जन्मिएका थिए।
















