निजी क्षेत्र र राज्यबीचको सहकार्यले मात्र आर्थिक समृद्धि सम्भव हुनेछ : अध्यक्ष ढकाल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंमा आयोजना गरेको निजी क्षेत्रसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक नेतृत्वबाट प्राप्त स्पष्ट प्रतिबद्धता र आश्वासनले निजी क्षेत्रको खस्किएको आत्मविश्वास पुनर्स्थापित हुने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष ढकालले निजी क्षेत्रको लगानी र व्यावसायिक सक्रियता अभिवृद्धि गर्न राज्य र राजनीतिक दलहरूको सहयोग अपरिहार्य रहेको बताएका हुन् । उनले रोजगारी सिर्जना, राजश्व वृद्धि र मुलुकको समग्र पूर्वाधार विकासमा निजी क्षेत्रको अहम् भूमिका रहने उल्लेख गर्दै नेतृत्वबाट प्राप्त सकारात्मक सन्देशले उद्योगी व्यवसायीमा नयाँ उत्साह सञ्चार गर्ने उल्लेख गरे ।
परम्परागत शैलीमा चलिरहेका कतिपय पद्धतिलाई सुधार गर्ने क्रममा केही अन्योल देखिए पनि निजी क्षेत्रलाई पूर्ण सहयोग गर्ने र आफ्ना वाचापत्रअनुसार नै अगाडि बढ्ने राजनीतिक नेतृत्वको प्रतिवद्धता सराहनीय रहेको उनले बताए । पछिल्लो समय निजी क्षेत्रको आत्मविश्वास केही कमजोर भएको अवस्थामा राजनीतिक नेतृत्वबाट प्राप्त स्पष्ट धारणाले सकारात्मक सन्देश दिएको छ । यसले आगामी दिनमा थप लगानी भित्र्याउन, व्यावसायिक क्रियाकलाप विस्तार गर्न र समृद्ध नेपाल निर्माणको लक्ष्य प्राप्त गर्न सहयोग पुग्नेछ। पार्टी नेतृत्वको स्पष्ट मार्गदर्शन र सहयोगको आश्वासनले निजी क्षेत्रको मनोबल बढ्ने र यसले देशको आर्थिक विकासमा ठोस योगदान पुर्याउने विश्वास समेत अध्यक्ष ढकालले व्यक्त गरे । निजी क्षेत्र र राज्यबीचको सहकार्यले मात्र आर्थिक समृद्धि सम्भव हुनेमा जोड दिए ।
















