रास्वपाद्धारा उमेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति गठन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘उमेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति’ गठन गर्ने निर्णय गरेको छ । रास्वपाको आइतबार (वैशाख २०) बसेको सचिवालयको बैठकले सहमहामन्त्री विपीनकुमार आचार्यको संयोजकत्वमा उक्त समिति गठन गर्ने निर्णय गरेको हो । आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीका उमेदवार छनोट गर्ने विधि ‘स्थानीय निर्वाचन उमेदवार छनोट रूपरेखा–२०८३’लाई पारित गर्दै उक्त रूपरेखालाई अक्षरशः र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहमहामन्त्री विपीनकुमार आचार्यको संयोजकत्वमा ‘उमेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति’ गठन गर्ने,” रास्वपाले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । यस्तै, बैठकले पार्टीको संसदीय दलको संशोधित विधान अनुमोदन गर्ने निर्णय समेत गरेको छ । पार्टीको प्रथम महाधिवेशन सम्पन्न गर्न ‘महाधिवेशन कार्यविधि–२०८३’ पारित गर्ने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ । पार्टीको वाग्मती प्रदेश समितिको सिफारिसबमोजिम रसुवा जिल्ला समिति विघटन गरी नयाँ प्रक्रियाबाट समिति गठन गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।
















