सुकुम्वासीमाथि राज्यको व्यवहारप्रति कांग्रेसको चासो, प्रतिकार गर्ने
काठमाडौं । नेपाली कांग्रेसको संसद् समन्वय बोर्ड बैठकले सरकारको पछिल्ला कदमविरुद्ध चर्को विरोध गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार (वैशाख २२) बसेको बोर्डको पहिलो बैठकले गत भदौ २३ र २४ गते भएको विद्रोहबाट बनेको सरकारले सुकुम्वासीलाई आत्महत्या गर्न उक्साएको निष्कर्ष निकालेको छ । बैठकपछि कांग्रेस प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङदेम्बेले भने, “सुकुम्वासीलाई उठाएको र राखेको ठाउँमा हेर्दा मर्नका निम्ति उक्साएको अनुभूति भएको छ । होल्डिङ सेन्टरमा महिला, बालबालिका, जेष्ठ नागरिकहरू र विद्यार्थी डिप्रेसनमा जाने अवस्थामा देखिन्छन् । राज्यले व्यवस्थापनको पाटोलाई ख्याल नगरी वास्तविक सुकुम्वासीलाई हचुवाको भरमा उठाएर मानवीय मूल्य उल्लंघन गरेको कांग्रेसको आरोप छ । यस विषयमा कांग्रेसले सरकारलाई सचेत गराएको छ ।
नदी किनारलाई व्यवस्थित, राम्रो बनाउने विषयमा कांग्रेस सकारात्मक भए पनि सुकुम्वासीप्रति भएको राज्यको व्यवहारप्रति चासो व्यक्त गरेको छ । झन्डै १४ लाख नेपाली जनताप्रति कुदृष्टि परेको कांग्रेसले जनाएको छ । राज्यले यही तवरमा गतिविधि जारी राख्यो भने प्रतिकारमा उत्रिन बाध्य हुने संसदीय दलका नेता आङदेम्बेले बताए । यसैबीच संवैधानिक परिषद्सम्बन्धी जारी भएका अध्यादेशप्रति कांग्रेसले आपत्ति जनाएको छ । संसदीय दलका नेता आङदेम्बेले भने, “संसद् स्थगित गरी अध्यादेश पारित गरेर २८ गते हठात अधिवेशन बोलाइएकोले सरकारको बदनियत देखिन्छ । संशोधन प्रस्ताव र अन्य धेरै संसदीय प्रक्रियाअनुसार हामी आफूलाई प्रस्तुत गर्नेछौँ । सरकारको यो ढंगको नियतले मुलुकलाई ठिक ठाउँमा नलगेको कांग्रेसको ठहर छ ।
















