नेपाल उद्योग व्यापार महासंघद्वारा एमआरपी कार्यान्वयनका समस्या समाधान गर्न माग
काठमाडौं । नेपाल उद्योग व्यापार महासंघले अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) कार्यान्वयनका क्रममा देखिएका समस्याहरू तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघले यस्तो माग राखेको हो । महासंघका अध्यक्ष खिमनारायण पराजुलीले ठूला होटल लगायत पर्यटन क्षेत्रमा एमआरपी कार्यान्वयनमा जटिलता देखिएकाले ती समस्या समाधान गर्न सरकारलाई दबाब दिनुपर्ने अवस्था आएको बताए । उनले व्यवसायीलाई अनावश्यक दबाब दिने गरी कुनै पनि निर्णय नगर्न सरकारलाई सचेत समेत गराए । बजारमा मूल्य पारदर्शिता कायम गर्ने र अनियमितता नियन्त्रण गर्ने उद्देश्यले ल्याइएको एमआरपी व्यवस्था स्वागतयोग्य भए पनि यसको कार्यान्वयनलाई व्यवहारिक र व्यवसायमैत्री बनाउन आवश्यक रहेको अध्यक्ष पराजुलीले उल्लेख गरे ।
नेपालको बजार संरचना, साना तथा मझौला व्यवसायीको अवस्था र भन्सार एवं कर प्रक्रियाका व्यवहारिक पक्षलाई ध्यान दिँदै चरणबद्ध रूपमा न्यून बिजकीकरण निर्मुल पारेर मात्र यो प्रणाली सफल हुने उनको भनाइ थियो । पराजुलीले उद्योगी, व्यवसायी र सरोकारवालाहरूसँग पर्याप्त परामर्श र समन्वय गर्नुपर्नेमा जोड दिँदै साना व्यवसायीका लागि सहजीकरण र अभिमुखीकरण कार्यक्रम आवश्यक रहेको बताए । उनले कर तथा बिलिङ प्रणालीलाई स्पष्ट बनाउन र बजार व्यवस्थापनका नाममा व्यवसायीलाई अनावश्यक दुःख नदिन सरकारसँग आग्रह गरे । एमआरपी नीति कार्यान्वयनमा देखिएका गाँठो फुकाउन सरकारले तत्काल सम्बन्धित पक्षसँग छलफल गर्नुपर्नेमा उनले जोड दिए । महासंघले एमआरपी कार्यान्वयनलाई सहज बनाउन र साना व्यवसायीलाई यस विषयमा सचेत गराउन समेत सरकारको ध्यानाकर्षण गराएको छ ।
















