बीमा सचेतना र सडक सुरक्षामा सक्रिय नाइमा, अटोमोबाइल क्षेत्रमा जनचेतना फैलाउँदै

काठमाण्डौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) पछिल्लो समय नेपालको अटोमोबाइल क्षेत्रलाई केवल सवारी बिक्री र व्यवसायसँग मात्र सीमित नराखी सुरक्षा, बीमा सचेतना, वित्तीय जानकारी तथा सडक सुरक्षाजस्ता विषयमा जनचेतना अभिवृद्धि गर्न सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । सोही प्रयासअन्तर्गत नाइमाले ‘अटोमोबाइल क्षेत्रमा बीमाको आवश्यकता र सचेतना’ विषयको १२ औं विशेष संवाद सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणकी उप–निर्देशक रञ्जिता केसीले बीमासम्बन्धी नीतिगत पक्ष र यसको महत्वबारे जानकारी दिएकी थिइन् । उनले इभि गाडीमा देखिएको बीमाको समस्यालाई समाधानका लागि प्राधिकरणले ऐन नियमलाई संशोन गर्न लागेको बताइन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डिएसपी सुनिलजंग शाहले दुर्घटनापछि उत्पन्न हुने जटिल अवस्थाहरू, बीमा दाबी प्रक्रियामा आउने समस्या तथा दुर्घटनापछि अपनाउनुपर्ने सावधानीबारे जानकारी दिएका थिए । दुर्घटनापछि सही प्रक्रिया अवलम्बन गर्न सके दाबी प्रक्रिया सहज हुने र पीडितलाई आवश्यक सहयोग प्राप्त गर्न मद्दत पुग्ने उनको भनाइ थियो । यस्तै उनले पछिल्लो समय सवारी साधनको बिमा छ भन्नेको संख्या बढेको बताए । कार्यक्रममा नेशनल इन्स्योरेन्स कम्पनीका बजार प्रमुख बिमल बास्कोटाले सवारी तथा बीमा क्षेत्रमा देखिएका चुनौतीबारे प्रस्तुति दिँदै कर प्रणाली तथा नीतिगत अस्थिरता, वित्तीय जोखिम न्यूनीकरण, भन्सार तथा ट्यारिफ सम्बन्धी चुनौती र हाल बीमा दाबी प्रक्रियामा देखिएका समस्याबारे प्रस्तुतीकरण दिएका थिए । उनले दिगो तथा सुरक्षित मोबिलिटीका लागि प्रभावकारी बीमा प्रणाली आवश्यक रहेको पनि बताए । कार्यक्रममा नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले कार्यक्रमको बारेमा जानकारी दिएका थिए । विशेषगरी पछिल्लो समय तीव्र रूपमा विस्तार भइरहेको विद्युतीय सवारी (ईभी) र त्यससँग सम्बन्धित बीमाका विषय कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो । कार्यक्रममा डिजिटल बीमा प्रणाली, ईभी बीमाको अवस्था तथा नेपालमा अटोमोबाइल बीमाका क्षेत्रमा देखिएका चुनौतीहरूबारे समेत छलफल भएको थियो । कार्यक्रममा सहभागीहरुले नेपालको बीमा क्षेत्रमा अझै सुधार आवश्यक रहेको र विशेषगरी ईभी बीमासम्बन्धी स्पष्ट तथा प्रभावकारी नीतिको आवश्यकता रहेको विषय उठाएका थिए । नाइमा एक गैरनाफामुखी संस्था हो, जसले नेपालमा अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको प्रतिनिधित्व गर्दै आएको छ । संस्था केवल व्यवसायिक हितमा सीमित नभइ सडक सुरक्षा, सवारी सचेतना, बीमा, वित्तीय ज्ञान तथा सवारी प्रयोगसम्बन्धी जनचेतना अभिवृद्धिका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । पछिल्ला यस्ता गतिविधिले नाइमा नेपालको अटोमोबाइल क्षेत्रमा केवल व्यवसायिक संस्था नभई जनचेतना र सुरक्षामा केन्द्रित संस्थाका रूपमा समेत स्थापित हुँदै गएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *