नेपाल अमेरिका फिल्म फेस्टिभल २०२६ को लाइनअप सार्वजनिक
अमेरिकाको मेरिल्याण्डमा आयोजना हुने नेपाल अमेरिका इन्टरनेसनल फिल्म फेस्टिभल २०२६ ले आफ्नो आधिकारिक लाइनअप सार्वजनिक गरेको छ । नेपाल अमेरिका फिल्म सोसाइटीद्वारा हरेक वर्ष आयोजना हुँदै आएको यो फेस्टिभल आगामी जुन २५ देखि २८ तारिखसम्म एएफआई सिल्भर थिएटर एन्ड कल्चरल सेन्टर, सिल्भर स्प्रिङ तथा ग्रिनबेल्ट सिनेमामा सञ्चालन हुनेछ । यस वर्षको फेस्टिभलमा नेपालसहित ११ देशका ३८ वटा फिल्म प्रदर्शन गरिने जनाइएको छ । लाइनअपमा छोटा तथा फिचर दुवै विधाका फिल्म समावेश छन् । नेपाल र अमेरिकाका फिल्मकर्मी तथा फिल्म अध्येता सम्मिलित छनोट समितिले फिल्महरू मनोनयन गरेको फेस्टिभल आयोजकले जनाएको छ । फेस्टिभल उद्घाटन भारतीय निर्देशक त्रिवेणी राई निर्देशित फिल्म ‘सेप अफ मोमो’ बाट हुनेछ । बुसान फिल्म फेस्टिभल २०२५ मा पुरस्कार जितेको यो फिल्म जुन २५ मा रेड कार्पेट समारोहसहित प्रदर्शन गरिनेछ । समापन फिल्मका रूपमा नेपाली फिल्म ‘शक्ति’ चयन गरिएको छ ।
नानी साह्रा वाकर निर्देशित यो फिल्म जुन २८ मा प्रदर्शन गरिने कार्यक्रम छ । प्रदर्शनपछि अवार्ड समारोहसमेत आयोजना गरिने जनाइएको छ । यसपटक नेपाली अमेरिकी निर्देशक अमिताभ जोशीको ‘ह्याभ यू सिन माई गड ?’ पनि विशेष प्रदर्शनमा रहनेछ । ६० मिनेट लामो यो फिल्म ‘स्याटरडे फिल्म’ अन्तर्गत समावेश गरिएको हो । फेस्टिभलमा ‘ग्लोबल पिस फिल्म फेस्टिभल’ साइडबार अन्तर्गत एलिनोर पियर्स निर्देशित ‘अब्राहाम्स ब्रिज’ र जोन ओसाकी निर्देशित ‘मेकिङ वेभ्स ः द राइज अफ एसियन अमेरिका’ पनि प्रदर्शन गरिने भएको छ । फिचर फिल्मतर्फ नेपालका जौन योन्जन निर्देशित ‘क्रलिङ क्रोज (आँखा)’ छनोट भएको छ । यसबाहेक चीन, भारत, इक्वेडर, स्विट्जरल्याण्ड, चिली र ब्राजिलका फिल्म पनि प्रतिस्पर्धामा रहेका छन् । ‘डीएमभी क्लोज अप’ सेक्सनमा अमेरिकास्थित क्षेत्रीय फिल्मलाई समेटिएको छ । यसअन्तर्गत जिमी ली वार्ड जुनियर निर्देशित ‘शाटर्ड साइलेन्स ः इमिटेसन अफ ए पर्फेक्ट लाइफ’ लगायतका फिल्म प्रदर्शन हुनेछन् ।
छोटा फिल्मतर्फ पनि नेपाली फिल्मको उल्लेख्य उपस्थिति छ । डायमण्ड उप्रेतीको ‘ए मदर्स एम्ब्रेस’, अलिन कँडेलको ‘अ सोलम प्रमिस’, सुन्दर योन्जनको ‘अशुभ अष्टमी’, सुसिल सापकोटाको ‘ब्यान्डएड्स’, कृतिका बयलकोटीको ‘चाँदनी’, अर्बिन राईको ‘इटर्नल किनसिप’, ज्योत्सना सिम्खा ठाकुरीको ‘द कल’ र राजन कठेतको ‘द रोड टु टिल’ लगायतका नेपाली फिल्म फेस्टिभलमा प्रदर्शन हुनेछन् । यसपटकको फेस्टिभलमा नेपाल, अमेरिका, भारत, चीन, फ्रान्स, अस्ट्रेलिया, प्यालेस्टाइन, ब्राजिल, चिली, इक्वेडर र स्विट्जरल्याण्डका फिल्म समावेश छन् । आयोजकका अनुसार फिल्म प्रदर्शनसँगै फिल्मकर्मीसँग अन्तरक्रिया, राउन्डटेबल छलफल, फिल्म निर्माणसम्बन्धी मास्टरक्लास तथा विभिन्न सामुदायिक कार्यक्रम पनि सञ्चालन गरिनेछ । कार्यक्रम मेरिल्याण्डस्थित ब्रेन्टउड आट्र्स एक्सचेन्ज ग्यालरीमा समेत आयोजना हुनेछन् ।










