वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी हुनेलाई १ प्रतिशत आयकर, धेरै कमाउनेलाई कति ?
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३।८४ का लागि आयकरको नयाँ दर सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको व्यवस्थाअनुसार वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिले १ प्रतिशत मात्रै आयकर तिर्नुपर्नेछ। नयाँ कर संरचनाअनुसार १० लाखदेखि १५ लाख रुपैयाँसम्मको आम्दानीमा थप ५ लाख रुपैयाँमा १० प्रतिशत कर लाग्नेछ। त्यस्तै, १५ लाखदेखि २५ लाख रुपैयाँसम्मको आयमा थप १० लाख रुपैयाँमा २० प्रतिशत कर निर्धारण गरिएको छ। सरकारले २५ लाखदेखि ४० लाख रुपैयाँसम्म आम्दानी गर्नेहरूका लागि थप १५ लाख रुपैयाँमा २७ प्रतिशत कर दर तोकेको छ। त्यसभन्दा माथि अर्थात् ४० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने व्यक्तिका लागि २९ प्रतिशत आयकर लाग्ने व्यवस्था गरिएको छ। सरकारले नयाँ कर संरचना मार्फत आयको आधारमा प्रगतिशील कर प्रणालीलाई निरन्तरता दिएको जनाएको छ। नयाँ व्यवस्था आगामी आर्थिक वर्षदेखि लागु हुनेछ।
















