इन्डोनेसियामा ७ नेपाली पक्राउ

काठमाडौं । इन्डोनेसियामा सातजना नेपाली पक्राउ परेका छन् । इन्डोनेसियाको सेन्ट्रल जाभा क्षेत्रीय प्रहरीको साइबर अपराध अनुसन्धान निर्देशनालयले उनीहरूलाई पक्राउ गरेको हो । सोलो राया क्षेत्रमा सञ्चालित अन्तर्राष्ट्रिय अनलाइन ठगी गिरोहमा संलग्न रहेको आशंकामा सातजना नेपाली र चारजना म्यानमारका नागरिकलाई पक्राउ गरेको हो । स्थानीय सञ्चारमाध्यम कोम्पास डटकमका अनुसार उक्त गिरोहले करिब ४१.१ अर्ब इन्डोनेसियाली रुपैयाँ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सेन्ट्रल जाभा क्षेत्रीय प्रहरीको साइबर अपराध अनुसन्धान निर्देशक वरिष्ठ आयुक्त हिमावान सुतान्तो सारागिहका अनुसार आरोपितहरूले ‘रोमान्स स्क्याम’ शैलीमा पीडितहरूसँग भावनात्मक सम्बन्ध स्थापित गरी विश्वास जित्ने र त्यसपछि नक्कली लगानी योजना तथा क्रिप्टोकरेन्सीमा लगानी गर्न प्रलोभन दिने गरेका थिए । अनुसन्धानका क्रममा प्रहरीले एक कम्पनीको कार्यालय र ६ वटा भाडाका कोठासहित ७ स्थानमा छापा मारेको जनाएको छ। ‘पीटी डिगी ग्लोबल कन्सल्टेन्ट’ नामक कम्पनीलाई कामदार भर्ना गर्ने तथा मुख्य सञ्चालन केन्द्रका रूपमा प्रयोग गरिएको आशंका गरिएको छ । केही आरोपितहरूले भने आफ्नो गतिविधि लुकाउन भाडाका कोठाबाटै ठगी सञ्चालन गर्ने गरेको पाइएको समाचारमा उल्लेख छ ।

प्रहरीका अनुसार अपराधीहरूले टिन्डर, ट्यानट्यान, बम्बललगायतका डेटिङ एप र फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत सम्भावित पीडितहरूसँग सम्पर्क स्थापित गर्थे । विश्वासको सम्बन्ध बनेपछि कुराकानीलाई व्यक्तिगत म्यासेजिङ एपमा सारेर लगानीका नाममा रकम जम्मा गर्न दबाब दिने गरिएको थियो । सारागिहका अनुसार ठगीलाई विश्वसनीय बनाउन नक्कली पहिचान प्रयोग गरी सामाजिक सञ्जालका अकाउन्ट सञ्चालन गरेका थिए । पीडितको विश्वास जित्न महिलाका फोटो र भिडियो प्रयोग गर्नुका साथै केही महिलामार्फत प्रत्यक्ष भिडियो कलसमेत गराइन्थ्यो, जसबाट पीडितहरूलाई ठगी गिरोहको नियन्त्रणमा रहेको लगानी प्लेटफर्ममा रकम लगानी गर्न प्रेरित गरिने गरेको बताइएको छ । सो कार्यमा संलग्न नेपालीमध्ये चारजना महिला र तीनजना पुरुष रहेका र उनीहरू सबै २० वर्ष उमेर समूहका युवा रहेको बताइएको छ । प्रहरीका अनुसार उनीहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर इन्डोनेसिया ल्याइएको थियो । नेपाली महावाणिज्यदूतावासको समन्वय तत्काल उपलब्ध नभएर शीघ्र निर्णय हुन नसके कानुनी जटिलता बढ्न सक्ने बताइएको छ । अधिकारीहरूका अनुसार एकपटक अदालतमा मुद्दा दर्ता भई उनीहरूलाई पेस गरिएपछि जेल सजाय हुने सम्भावना उच्च रहनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *