भैरहवाको भाटभटेनीमा ‘आईएनआई सिनेमा’ सञ्चालनको तयारी

काठमाण्डौ । युवा व्यवसायी आभास कुँवरको लगानीमा भैरहवाको भाटभटेनी सुपर मार्केटमा ‘आईएनआई सिनेमा’ सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । लन्डनमा चार वर्ष ‘ब्याचलर इन बिजनेस म्यानेजमेन्ट’ अध्ययन पूरा गरी नेपाल फर्केका काठमाण्डौ टोखा–६ धापासीका कुँवरले स्वदेशमै केही गर्ने उद्देश्यका साथ उक्त फिल्म हल सञ्चालनमा ल्याउने तयारी गरेका हुन् । उक्त हलको एक विशेष समारोहका बिच जेठ २५ गते सोमबार शुभारम्भ गर्ने तयारी गरिएको छ । भैरहवा आसपासका क्षेत्रका दर्शकलाई फिल्म हेराई नयाँ अनुभव प्रदान गर्ने उदेश्यले अत्याधुनिक प्रविधि र सुविधा सम्पन्न फिल्म हल सञ्चालनमा ल्याउन लागिएको युवा व्यवसायी कुँवरले बताए ।

विदेशमा उच्च शिक्षा हासिल गरेपछि आफ्नै देशमा व्यापार–व्यवसाय सञ्चालन गरी रोजगारी सिर्जना गर्ने र देशको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले कुँवरले उक्त सिनेमा हलमा लगानी गरेका हुन् । दुईवटा मल्टिप्लेक्स स्क्रिनसहित सञ्चालनमा आउन लागेको उक्त हलमा प्रत्येक थिएटरको क्षमता १९८ सिट रहेको छ । सिनेमा हलमा नेपालमै पहिलो पटक भित्रिएको दाबी गरिएको नवीन प्रविधि जडान गरिएको छ । दर्शकले अब ‘सिल्भर स्क्रिन’मा अत्याधुनिक साउन्ड सिस्टमको साथमा चलचित्रको बेग्लै मज्जा लिन पाउनेछन् । यो साउन्ड सिस्टम र प्रविधि नेपाल अधिराज्यमै अहिलेसम्मकै उत्कृष्ट र अत्याधुनिक रहेको सञ्चालले दाबी गरेका छन् । पछिल्लो समय व्यापारिक केन्द्रको रूपमा विकास भइरहेको भैरहवामा यो स्तरको अत्याधुनिक सिनेमा हल सञ्चालनमा आउनुले यहाँको पर्यटन र मनोरञ्जन क्षेत्रमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ । भाटभटेनी जस्तो व्यावसायिक केन्द्रमा हल सञ्चालन हुने भएपछि दर्शकका लागि सपिङ र सिनेमा दुवैको आनन्द एकै ठाउँमा प्राप्त हुने जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *