कृषि विकास बैंकको अध्यक्षमा टंकप्रसाद पाण्डे नियुक्त

काठमाण्डौं । कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा टंकप्रसाद पाण्डे नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको हालै बसेको बैठकले पाण्डेलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। पाण्डेसँग निजामती सेवामा करिब २५ वर्षको अनुभव रहेको छ। उनले आर्थिक क्षेत्रसँग सम्बन्धित विभिन्न सरकारी तथा संस्थागत निकायमा महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्। लामो प्रशासनिक तथा नीतिगत अनुभवका कारण बैंकको नेतृत्वलाई थप प्रभावकारी बनाउन सक्ने अपेक्षा गरिएको छ। अध्यक्ष नियुक्तिपछि पाण्डेले नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

कृषि विकास बैंकले नयाँ नेतृत्वसँगै संस्थागत सुदृढीकरण, सेवा प्रवाहमा सुधार तथा कृषि क्षेत्रमा वित्तीय पहुँच विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ। बैंकका अनुसार ग्राहक सेवाको गुणस्तर अभिवृद्धि गर्दै कृषक तथा कृषि उद्यमीहरूलाई थप प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने लक्ष्य लिइएको छ। कृषि विकास बैंक नेपालको कृषि वित्तीय क्षेत्रमा अग्रणी बैंकका रूपमा परिचित छ। बैंकले कृषि, पशुपालन, कृषि व्यवसाय तथा ग्रामीण अर्थतन्त्रलाई केन्द्रमा राखेर विभिन्न वित्तीय सेवा प्रदान गर्दै आएको छ। बैंकले पाण्डेको नेतृत्वमा संस्थागत क्षमता अभिवृद्धि, डिजिटल बैंकिङ विस्तार तथा कृषि क्षेत्रमा लगानी वृद्धि गर्दै राष्ट्रिय अर्थतन्त्रमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *