निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल निर्वाचित
काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघको नवौं र दशौं संयुक्त वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघका अध्यक्ष राजेन्द्र मल्लको सभापतित्वमा सम्पन्न सभाले विभिन्न प्रस्तावहरू पारित गरेको छ । सभाले प्रगति विवरण, आर्थिक वर्ष २०८०।०८१ र २०८१।०८२ को आयव्यय विवरण पारित गर्नुका साथै आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव स्वीकृत गरेको छ । कार्यक्रममा बीमा क्षेत्रका विद्यमान समस्या, हालैको बजेटमा समेटिएका बीमासम्बन्धी व्यवस्थाहरू तथा आगामी कार्यदिशाबारे सदस्यहरूले आ–आफ्ना धारणा राखेका थिए । साधारणसभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
जसअनुसार अध्यक्षमा मनोहर दास मुल (सगरमाथा लुम्बिनी इन्स्योरेन्स), उपाध्यक्षमा आजाद श्रेष्ठ (युनाइटेड अजोड इन्स्योरेन्स), महासचिवमा महेन्द्रकृष्ण श्रेष्ठ (हिमालयन एभरेष्ट इन्स्योरेन्स) र कोषाध्यक्षमा रमेश कुमार निरौला (नेको इन्स्योरेन्स) चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा कुनाल कयाल (सानिमा जिआईसी इन्स्योरेन्स) र पवन अग्रवाल (सिद्धार्थ प्रिमियर इन्स्योरेन्स) रहेका छन् । निवर्तमान अध्यक्ष राजेन्द्र मल्लको योगदानको कदर गर्दै उनलाई कार्यसमितिमा आमन्त्रित गर्ने निर्णय पनि गरिएको छ । सभामा राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष निर्मल ढकाल, एनएलजी इन्स्योरेन्सका अध्यक्ष विमल प्रसाद वाग्ले, आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सका सञ्चालक कृष्ण प्रसाद शर्मा तथा हिमालयन एभरेष्ट इन्स्योरेन्सका सञ्चालक अजय स्थापितलगायतको उपस्थिति रहेको थियो ।
















