हट्यो सदनको अवरोध, बजेटमाथि छलफल सुरु

काठमाडौं । आर्थिक वर्ष २०८३।०८४ को बजेटमाथि छलफल सुरु भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु भएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते प्रस्तुत गरेको बजेटमा जेठ १८, १९ र २० गते छलफल गर्ने तय भएको थियो । तर, जेठ १७ गतेको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति सदनमा दिए । सोही अभिव्यक्तिको विरोधमा विपक्षी रहँदा बजेटमाथिको छलफल रोकिएको थियो ।

बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिएपछि सदनको अवरोध हटेको हो । परराष्ट्रमन्त्रीले दिएको जवाफमा विपक्षी दलका नेताले धारणा राखे । उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे । समय नटिपाएको भन्दै सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङलाई समय दिएनन् । श्रम संस्कृतिले वेलमा नाराबाजी गरेपछि सभामुखले सिटमा गएर बसे समय दिने बताए । र, हर्कले रोष्टमबाट बोलेपछि बजेटमाथिको छलफल सुरु भएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *