‘शून्यबाट सुरु गरेका थियौँ, इमानदारीपूर्वक काम गरे असम्भव केही छैन’ – अध्यक्ष ढकाल

काठमाडौँ । आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले पूर्ण समर्पण र इमानदारीका साथ काम गरेमा जीवन र व्यवसायमा कुनै पनि कुरा असम्भव नरहेको बताएका छन्। आईएमई ग्रुपको २६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्। अध्यक्ष ढकालले आईएमईको सुरुवाती दिनहरू स्मरण गर्दै आफूहरूले शून्यबाट व्यवसायिक यात्रा प्रारम्भ गरेको उल्लेख गरे। रेमिट्यान्स सेवाबाट सुरु भएको आईएमई ग्रुपले अहिले २६ वर्षको अवधिमा विभिन्न क्षेत्रमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ।
आफ्नो समग्र व्यावसायिक यात्रा ३५ वर्षभन्दा धेरै भइसकेको जानकारी दिँदै ढकालले हाल ग्रुपले बैंकिङ तथा वित्तीय संस्था, पूर्वाधार विकास, पर्यटन, बीमा, सूचना प्रविधि (आईटी) र डिजिटल पेमेन्ट जस्ता विविध क्षेत्रमा लगानी विस्तार गरिसकेको बताए। विगतमा अनौपचारिक माध्यम (हुन्डी) बाट भित्रिने रेमिट्यान्सलाई औपचारिक प्रणालीमा ल्याएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको मिहिनेतको कमाई सुरक्षित रूपमा उनीहरूको परिवारसम्म पुर्याउने उद्देश्यले यो यात्रा सुरु भएको उनले स्पष्ट पारे।
आईएमईको यो अभूतपूर्व सफलता कुनै एक व्यक्तिको मात्र नभई सम्पूर्ण टिमको सामूहिक प्रयास र मिहिनेतको परिणाम भएको उनको भनाइ छ। आफ्ना सङ्घर्षका दिनहरू सम्झिँदै अध्यक्ष ढकालले भने, ‘हामीले एउटा सानो कोठाबाट व्यवसाय सुरु गरेका थियौँ, जहाँ एउटा फलामको फोल्डिङ खाट र एउटा सानो कुकर मात्र थियो । त्यही कोठा नै हाम्रो अफिस, भान्सा र सुत्ने ठाउँ थियो । आजको आधुनिक सुविधा सम्पन्न कार्यालयको तुलनामा ती दिनहरू सायद अहिले कथा जस्ता लाग्न सक्छन् । हामी सबैले सामूहिक स्वामित्व लिएर अघि बढ्ने हो भने कुनै पनि व्यावसायिक गतिविधि र पूर्वाधार निर्माणका कार्यहरू सम्पन्न गर्न सम्भव छ ।’ उनले आगामी दिनमा पनि यही सामूहिक प्रयत्नलाई आत्मसात् गर्दै अझ ठुला परियोजनाहरू सञ्चालन गर्ने र नयाँ व्यावसायिक उचाइ हासिल गर्ने प्रतिबद्धता जनाए।

















