शहीदप्रतिको त्यो अपमान !

मङ्गलवार प्रतिनिधिसभा बैठकमा अचम्मको तर लज्जास्पद दृश्य देखियो । प्रमुख विपक्षी दलका उपनेता निष्कल राईको भावपूर्ण सम्बोधन र सम्बोधनका क्रममा नेपाल एकीकरणदेखि वर्तमान अवस्था सम्मका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न ५ मिनेट मौन धारणको अनुरोधका क्रममा सबै विपक्षी दलका सदस्यहरू खडा भएर मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरे । तर, सत्तारुढ दलका सदस्य भने निल्ज्र्जतापूर्वक आफ्नो आसनमा बसिरहे । यो घटनाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको नियत,चरित्र र संस्कारलाई उदाङ पारेको छ । शहीदहरूको अपमान गर्ने रास्वपाले नेपाल र नेपाली जनताको हितमा काम गर्छ भन्ने विश्वासको आधार के छ ? शहीद विपक्षी र सत्तापक्षका निजी सम्पत्ति होइन । सारा नेपालीका शान र गौरव हुन । तर तिनै इतिहासका गौरवलाई किन अपमान गरियो ,त्यसको नियत के हो ? यो घटनाले हाम्रो देशको सत्तारुढ दलको चरित्रलाई उदाङ पारेको छ । शहीदकै विरासतमा मनोमानी गर्ने,अनेक उटपट्याङ गरेर देशको बदनाम गर्ने,नामावली लगाएर जनताको ढाड सेक्ने अनि तिनै शहीदको अपमान गर्ने घृष्टता हाम्रा सांसदहरूले कसरी गरे । अनि संसद्को नेता मानिने प्रतिनिधिसभाको सभामुखलाई पनि लाज लागेन । उनलाई त संसद् सचिवालयका कर्मचारीलाई पनि यति संवेदनशील मुद्दामा के गर्नुपर्छ भन्ने लागेर त्यसो गरिएको हो ? यदि त्यसो हो भने सभामुख  सत्तापक्षको कि प्रतिपक्ष को ? सत्तापक्षको दास भएर सभामुख रहने हो भने संसद् अधिवेशन कसरी निष्पक्ष हुन्छ र संसद्को कारबाही कसरी न्यायपूर्ण हुन्छ ? संसद्मा बारम्बार जात्रा देखाउने सभामुख ,प्रधानमन्त्री र सत्तारुढ दलका सांसदहरूलाई संसदीय आचरण र मर्यादा सिकाउनु पर्ने दायित्व कसको हो र त्यो दायित्व किन पुरा गरिँदैन ?
विपक्षी सांसदमाथि भौतिक आक्रमणको प्रयास गर्ने,अभद्र बोल्ने, अराजनैतिक भाषा प्रयोग गर्ने,सरकार र प्रधानमन्त्रीको आलोचना गरे गेटमै हत्या गरिदिने धम्की दिने प्रतिनिधिसभाका सत्तापक्षका सांसदको अभिव्यक्तिले नयाँ युग र नयाँ पुस्ताको साँच्चिकै प्रतिनिधित्व गरेको छ त ? यसले नेपालको संसद्को चरित्रलाई अन्तर्राष्ट्रिय रूपमा बदनाम गराउने काम मात्रै त गरेको छैन ? शहीदहरूको अपमानको जिम्मेवारी अब कसको काँधमा आयो,सभामुखको कि,वर्तमान सरकारको कि, सत्तापक्षको प्रमुख सचेतकको ? सत्तापक्षमा पनि पढेलेखेका, राजनीति बुझेका,शहीदको योगदान तिनको बलिदानबाट हामीले प्राप्त गरेको उपलब्धिको सम्बन्धमा धेरथोर अध्ययन गरेका सांसद पनि त होलान् । के तिनलाई पनि लज्जावोध भएन ?जे कुरालाई पनि राजनीतिकरण गरियो भनेर बारम्बार बकवास गर्ने रास्वपाले हुँदाहुँदै शहीदहरूलाई पनि राजनीतिकरणको शिकार बनायो । हुन त रास्वपा भन्ने पार्टीलाई नेपाली राष्ट्रियता सार्वभौमसत्ता, क्षेत्रीय अखण्डताको मात्र मतलब नभएको होइन नेपाली जनता,नेपालको संस्कृति र परम्पराको पनि मतलब छैन । केही कुराको पनि मतलब नभएको उद्दण्ड, उच्शृखल र अराजक जमातलाई सत्ता र सम्पत्ति मात्र चाहिएको छ । जनताले नयाँ भनेर भोट दिएकाहरूको नयाँपन अब के के मा देखिने हो त्यो देखिँदै जानेछ । तर जे नयाँ कुरा गरे पनि तिनले नेपाल र नेपालीको हुर्मत लिन भने छाड्ने छैनन् भन्ने कुरा एकपछि अर्को गर्दै सार्वजनिक हुँदै छ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *