प्रतिनिधि टुंगो लगाउन नसक्दा सुरु नै भएन रास्वपाको बन्द सत्र
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनको उद्घाटन सत्र जसरी सफलतापूर्वक सम्पन्न गर्यो, त्यहीअनुरूप बन्द सत्र सक्ने छनक देखाएको छैन । सोमबार बिहान ८ः३० बजे सुरु गर्ने कार्यतालिका रहेको बन्द सत्र तोकिएको समयमा सुरु हुन सकेन । बन्द सत्र सुरु गर्ने भनिएको अवधि ८ घन्टा बितिसकेको छ । सत्रको सुरुवात ८ः३० बजे सभापतिले प्रारम्भ गर्ने गरी कार्यतालिका बनाइएको थियो । त्यसपछि क्रमशः अनुशासन समितिको प्रतिवेदन, पार्टीको प्रतिवेदन, संगठनात्मक प्रतिवेदन, विधान अनुमोदन, अर्थ राजनीति प्रस्तावना, सभापतिको राजनीतिक प्रतिवेदन, अन्तरिम व्यवस्थापन समिति गठन गरी दिउँसो १स्२५ बजे बन्द सत्र सक्ने कार्यतालिका बनेको थियो । बेक्रफास्टपछि बन्द सत्र सुरु गर्ने तालिका बनाएको रास्वपाले बिहानको खाना र दिउँसोको खाजा खाने बेला भइसक्दा पनि सुरु गर्न सकेन ।बिहान १० बजेसम्म बन्द सत्र सुरु हुन नसकेको विषयमा महामन्त्री कविन्द्र बुर्लाकोटीसँग जिज्ञासा राख्दा उठ्न ढिलो भएको र ब्रेकफास्टका कारण ढिलो हुन पुगेको बताएका थिए । तर ब्रेकफास्टका कारणले मात्रै बन्द सत्र ढिलाइ नभएको प्रतिनिधिहरूले बताएका छन् । बन्द सत्र सुरु नहुनुमा प्रमुख कारण प्रतिनिधिहरूको टुंगो लगाउन नसक्नु हो । निर्वाचन आयोगले अघिल्लो सातासम्म ३ हजार हारहारी प्रतिनिधि हुने जानकारी गराएको थियो । कोषाध्यक्ष लिमा अधिकारीले गत शनिबार भरतपुरमै बसेको केन्द्रीय समिति बैठकमा ३९९० प्रतिनिधिले शुल्क बुझाएको जानकारी गराएकी थिइन् । त्यस दिन पाँच घण्टाभन्दा बढी समय बसेको केन्द्रीय समितिले पनि प्रतिनिधिको यकिन टुंगो लगाउन सकेन । समयोजनबाट दुई महामन्त्रीको सल्लाहमा प्रतिनिधि थप्न सक्ने जानकारी गराइएको थियो । पत्रकार सम्मेलनका क्रममा प्रवक्ता मनिष झाले त्यसबेला ४२ सय प्रतिनिधि हुन सक्ने जानकारी गराएका थिए । विवाद भएपछि मधेशबाट प्रतिनिधि बन्नेहरूको सूची सोमबार बिहान मात्रै सार्वजनिक गरिएको थियो । यद्यपि, त्यसमा पनि विवाद नै छ । ९६ प्रतिनिधि छुटाएर मधेशको प्रतिनिधि टुंगो लगाएको भन्दै विरोध भएपछि विवाद मिलाउन लागिएको छ । अर्कोतर्फ, महाधिवेशन प्रतिनिधिहरूको नाम, थर, ठेगाना लगायतका त्रुटिले प्रतिनिधि कायम हुन सकेका छैनन् । प्रतिनिधिहरूको त्रुटि सच्याउनका लागि बिहान १० बजेसम्मको समय उपलब्ध गराइए पनि दिउँसो ३ बजेसम्म निर्वाचन आयोगको कार्यालयमा कार्यकर्ताहरू आवेदनसहित पुगिरहेका थिए । निर्वाचन आयोगका प्रमुख भुवन केसीले त्रुटि सच्याउन आएका निवेदनको यकिन नभएको जानकारी गराए । केसीले ४ हजार हारहारी प्रतिनिधि हुन सक्ने अनलाइनखबरसँग बिहान ११ बजे बताएका थिए ।
तर दिउँसो पत्रकार सम्मेलन गर्दा प्रवक्ता झाले ४ हजार ५०० हाराहारी प्रतिनिधि हुने जानकारी गराएका थिए । निर्धारित समयमा बन्द सत्र सुरु हुन नसकेपछि नेता,कार्यकर्ताहरू बन्द सत्रस्थल वरपर छरिएर बसेका छन् । कोही चिसो वातावरण खोज्दै यताउता गरिरहेका छन् । उखरमाउलो गर्मी छल्न डीडीसीको बिक्री केन्द्रमा झुम्मिरहेका छन् । बन्द सत्र सुरु हुन नसकेपछि छिटो प्रक्रिया सुरु गर्न नेतृत्वलाई प्रतिनिधिहरूले आग्रह गरिरहेका छ । दिउँसो ३ बजेसम्म बन्द सत्र सुरु हुन नसक्दा समग्र महाधिवेशनका लागि तय गरिएको कार्यतालिका प्रभावित बनेको छ । आइतबार उद्घाटन गरेर मंगलबार नयाँ नेतृत्व चयन गरेर महाधिवेशन सक्ने कार्यतालिका बनाइएको थियो । बन्द सत्र समयमा सुरु हुन नसक्दा महाधिवेशनको अवधि लम्बिने भएको छ । पार्टी प्रवक्ता मनिष झाले महाधिवेशनको समयावधि लम्बिन सक्नेमा शनिबार भएको केन्द्रीय समिति बैठकमा छलफल भएकोसमेत बताए । प्रतिनिधिहरूको संख्यालाई विवादरहित बनाउने उद्देश्यले बन्द सत्र सुरु हुन ढिलाइ भइरहेको प्रवक्ता झाले जानकारी दिए । बन्द सत्र समयमा सुरु हुन नसक्दा उम्मेदवार मनोनयन प्रक्रियासमेत प्रभावित हुने भएको छ । सोमबार दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवार मनोनयन दर्ताको लागि समय छुट्याइए पनि कार्यान्वयन हुन सकेन । बन्द सत्र समयमा सुरु हुन नसक्दा उम्मेदवार दर्ता प्रक्रियादेखि नेतृत्व चयनसम्मका आगामी कार्यतालिका सबै प्रभावित भएका छन् । महाधिवेशनको अवधि एक दिन लम्बिनेमा नेता,कार्यकर्ता ढुक्क देखिएका छन् ।
















