कोशी र बागमतीका मुख्य राजमार्ग अवरुद्ध
काठमाडौँ । बाढी, पहिरो र सडक मर्मतका कारण कोशी र बागमती प्रदेशका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। सोमबार बिहान ८ बजेसम्मको अद्यावधिक विवरणअनुसार विभिन्न जिल्लाका सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा बन्द भएका हुन्। कोशी प्रदेशअन्तर्गत इलाममा पहिरोका कारण ‘मेची राजमार्ग’ पूर्ण रूपमा अवरुद्ध भएको छ। असार १३ गतेदेखि इलाम नगरपालिका ९ राजदुवालीमा गएको पहिरोले उक्त राजमार्ग ठप्प बनाएको हो। यस्तै, भोजपुर नगरपालिका ५ बोखिममा बाढीका कारण मध्य पहाडी लोकमार्ग प्रभावित भएको छ।
वैशाख १२ गतेदेखि अवरुद्ध उक्त सडक हाल एकतर्फी मात्र सुचारु छ भने त्यहाँ वैकल्पिक बाटोको समेत व्यवस्था रहेको छ। बागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोकमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्ग सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। जेठ २२ गतेदेखि ‘खुर्कोट,नेपालथोक(कटुञ्जेबेँसी’ हुँदै चल्ने सम्पूर्ण सवारी साधनलाई उक्त सडक खण्डमा चल्न दिइएको छैन। उता, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ र ४ महालक्ष्मी क्षेत्रमा सडक मर्मत गर्नुपर्ने भएकाले ‘कुलेखानी,फाखेल,हुमाने,फर्पिङ’ हुँदै काठमाडौँ आउने सडक खण्ड पूर्ण रूपमा बन्द गरिएको छ। जेठ १५ गतेदेखि बन्द गरिएको यस राजमार्गमा मर्मत कार्य हुने भएकाले एक महिनासम्म बाटो बन्द रहने जनाइएको छ।
















