सुस्तावासीद्धारा नागरिकता र लालपुर्जा माग्दै काठमाडौंमा आन्दोलन

काठमाडौं । नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले आफूहरू नेपाली नागरिक भएको प्रमाणपत्र दिन माग गर्दै काठमाडौंकेन्द्रित आन्दोलन सुरु गरेका छन् । आफूहरूसँग नेपाली नागरिक भएको कुनै प्रमाणपत्र र लालपुर्जा नहुँदा सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीले निरन्तर दुःख दिएको भन्दै उनीहरूले काठमाडौं आएर आन्दोलन थालेका हुन् । उनीहरूले भारतीय अतिक्रमण रोक्न ठोस कूटनीतिक पहल र सीमा सुरक्षा सुदृढ गर्नुपर्ने, सुस्तावासीलाई तत्काल नेपाली नागरिकता प्रदान र भोगचलन गरिरहेको जग्गाको लालपुर्जा वितरण गरिनुपर्ने माग अघि सारेका छन् ।

आन्दोलनका निम्ति काठमाडौं आएका सुस्तावासीले जेठ १३ गतेपछि भारतीय सुरक्षाकर्मीले हातहतियारसहित पटक–पटक नेपाली भूमिमा प्रवेश गरेर जमिन मिच्ने प्रयास गरिरहेको जनाएका छन् । भारतीय पक्षको सामना गर्न सुस्ताको लालपुर्जा, नेपाली नागरिकता र सिमानामा जंगेपिलर कायम गरिनुपर्ने उनीहरूले माग गरेका छन् । भारतीय सुरक्षाकर्मीले पटक–पटक नेपाली नागरिकको प्रमाणपत्र र जग्गा नेपालको भएको लालपुर्जा देखाउन दबाब दिने गरेको उनीहरूको भनाइ छ । सुस्ता बचाऊ अभियानको आह्वानमा त्यहाँको माटोसहित काठमाडौं आएका नागरिकले आफूहरूका माग पूरा नभएसम्म घर नफर्कने जनाएका छन् । सरकारले आफूहरूका माग पूरा नगरे आन्दोलन थप सशक्त र क्रमिक रूपमा बढाउँदै लैजाने उनीहरूले चेतावनी दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *