सबै लोकतन्त्रवादी, वामपन्थी र देशभक्तहरूबीच कार्यगत एकता गरी संयुक्त संघर्षमा जानुपर्छ – ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । मंगलबार पार्टी कार्यालय च्यासलमा राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै एकताको भ्रममा नपर्न नेता–कार्यकर्ताहरूलाई आग्रह गरेका हुन् । हामी समूहगत र संस्थागत एकता गर्दैनौँ तर पार्टी प्रवेश गर्ने व्यक्ति र समूहलाई पार्टी प्रवेश गराई उदारताका साथ समेट्ने काम गर्छौं । उनले सबै लोकतन्त्रवादी, वामपन्थी तथा देशभक्तहरूबीच कार्यगत एकताका साथ संयुक्त संघर्षमा जानुपर्ने आवश्यकता रहेको बताए । लोकतन्त्रलाई फर्काउन संयुक्त संघर्ष जरुरी रहेको धारणा ओलीको छ । “देशमा गरिएको वितण्डाविरुद्ध रहेका सबै लोकतन्त्रवादी, वामपन्थी र देशभक्तहरूबीच कार्यगत एकता गरी संयुक्त संघर्षमा जानुपर्छ,” उनले भने ।

ओलीले पार्टी एकतामा पवित्रता चाहिने बताउँदै विगतमा त्यो नदेखिएको धारणा राखे । एकताका नाममा स्वार्थ, गठजोड र दाउपेच देखिएको भनाइ उनको छ । नेपाली कम्युनिस्ट पार्टीसँग एकताको चर्चा चलेको बेला ओलीले प्रस्टिकरण दिएका हुन् । ओलीले पार्टी पुनर्गठनको सन्दर्भमा निष्क्रिय रहेका पार्टी कमिटीहरूलाई सक्रिय बनाउन पुनर्गठन गर्न सकिने बताए । अध्यक्ष ओलीले पार्टीमा एकता, फेरि पनि एकता र अझ बलियो एकताको आवश्यकता रहेकोमा जोड दिए । “शत्रुहरूले आक्रमण गरिरहेको यसबेला पार्टीलाई विजयतर्फ अगाडि बढाउन के गर्नुपर्छ, त्यसदिशामा राय सुझाव दिनुस्,” ओलीको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *