दिव्य शताब्दीपुरुष डा.लाल दासलाई ‘सुवर्णपुर सम्मान’ समर्पण

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ७ ले एक विशेष समारोहको आयोजना गर्दै १०२ वर्षमा प्रवेश गर्दै गरेका दिव्य शताब्दीपुरुष डा. गौरीशंकर लाल दासको रथारोहण गरेको छ । उक्त अवसरमा दिव्य शताब्दीपुरुष डा. लाल दासलाई ‘सुवर्णपुर सम्मान २०८३’ समर्पण गरिएको छ । शनिबार चाबहिलस्थित पशुपति मित्र माध्यमिक विद्यालयको प्रांगणमा दिव्य शताब्दीपुरुष डा. गौरीशंकर लाल दासलाई प्रमुख अतिथि ‘शताब्दी वर्ष मूल समारोह समिति’का संरक्षक तथा नेपाली कांग्रेसका सभापति गगन थापा, काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोल, महानगरपालिका वडा नं ७ का वडाध्यक्ष विमलकुमार होडा र समितिका संयोजक पूर्वमन्त्री शंकरप्रसाद कोइरालाले ‘सुवर्णपुर सम्मान २०८३’ समर्पण गरे । उक्त अवसरमा ‘चन्द्रविनायक मन्दिर ः एक परिचय’ पुस्तक लोकार्पण गरियो । सम्मान समर्पणअघि दिव्य शताब्दीपुरुष डा. गौरीशंकर लाल दासको बाजागाजासहित रथारोहण गरियो । रथारोहण र्‍याली मित्रपार्कस्थित डा। लाल दासको घर परिशर हुँदै मित्रपार्क, जयबागेश्वरी, सिफल चौर, कुटुबहाल, चाबहिल गणेशस्थान, चाबहिल चोक, चुच्चेपाटी पासाङ ल्हामु शेर्पाको सालिक घुम्दै पशुपति माध्यमिक विद्यालयमा आएर सभामा परिणत भयो ।

उक्त अवसरमा प्रमुख अतिथि गगन थापाले शताब्दीपुरुष डा। लाल दासको दीर्घायुको कामना गर्दै डा। दास सबैका लागि उत्प्रेरक व्यक्तित्व भएको उल्लेख गरे । थापाले भने, “डाक्टर साहबले समाजलाई गुन लगाउनु भएको छ । उहाँलाई सम्मान गर्दै उहाँसँग आशीर्वाद लिन चाहेका हौँ हामीले । हामी उहाँको दीर्घायुको कामना गर्दछौँ ।” कार्यक्रममा महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले डा. लाल दासको ऊर्जा सबैका लागि प्रेरक रहेको उल्लेख गर्दै सिंगो महानगरवासीका तर्फबाट शुभकामना व्यक्त गरिन् । उक्त अवसरमा कार्यक्रम संयोजक समाजसेवी अरुणसिंह बस्नेतले स्थानीयस्तरमा तीन वर्षदेखि आफूहरूले यो अभियान थालेको बताए । शनिबार बिहान शताब्दीपुरुष डा. गौरीशंकर लाल दासको दीर्घजीवन एवम् सुस्वास्थ्यको कामना गर्दै चाबहिल गणेशस्थानमा मूल पूजासहित वडा नम्बर ७ भित्रका ३५ वटा मठ मन्दिरमा पूजा अर्चना गरियो । मौसमको प्रतिकूलताका बाबजुद स्थानीयहरूको बाक्लो उपस्थिति रहेको समारोहमा मित्रपार्क नायः खिं बाजँ खलका कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिए । मौसमका कारण कुटुम्ब ब्याण्डले आइतबार सांगीतिक प्रस्तुति दिने भनिएको छ । स्मरणीय छ, चाबहिल, देवपाटन र त्यस वरपरका क्षेत्रलाई पहिले सुवर्णपुर भनेर चिनिन्थ्यो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *