आगामी महाधिवेशनमा ज्ञानेन्द्र शाहीले राप्रपा अध्यक्षमा उमेदवारी दिने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले पार्टीको आगामी महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिने बताएका छन् । सोमबार बुटवलमा पत्रकारहरूसँग कुरा गर्दै शाहीले मुलुकमा पुस्तान्तरणको प्रक्रिया अघि बढेको भन्दै राप्रपाभित्र पनि नेतृत्व र सोचमा रुपान्तरण आवश्यक रहेको बताए । पार्टीलाई समयअनुकूल रूपान्तरण गर्दै नयाँ पुस्ताको नेतृत्व स्थापित गर्नुपर्ने उनको भनाइ छ । “देश पुस्तान्तरणको बाटोमा गइसक्यो ।
अब राप्रपामा पनि रुपान्तरण आवश्यक छ । पार्टीलाई नयाँ ढंगबाट अघि बढाउने समय आएको छ,” उनले भने । शाहीले वर्तमान राजनीतिमा व्यक्तिकेन्द्रित प्रवृत्ति हाबी भएको टिप्पणी गर्दै त्यसको अन्त्य आवश्यक रहेको बताए । पार्टीले जनसरोकारका मुद्दा उठाउँदै सरकारका राम्रा काममा सहयोग र कमजोरीमा खबरदारी गर्ने अपनाउने उनको भनाइ छ ।















